काठमाडौ, असोज २ – नेपालको चर्चित रियालिटी शो ‘नेपाल आइडल’का पहिलो सिजनका विजेता बुद्ध लामा बेहोस् भएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । आफ्नो नयाँ गीत रेकर्डिङका लागि कृपा डिजिटल स्टुडियो पुगेका उनी रेकर्डिङ छोडेर आराम गर्न घर नपुग्दै आँगनमै बेहोस भएका थिए ।
गत सोमबार बिहानैदेखि सामान्य ज्वरो आएपनि उनी स्टुडियोमा गीत रेकर्ड गएका थिए । तर ज्वरो बढेपछि रेकर्डिङ छोडेर आराम गर्न भन्दै घर गएका उनी आगँनमा पुगेलगत्तै बेहोस भए पछि उनलाई तुरुन्तै नर्भिक अस्पताल लगियो ।
अहिले नर्भिक अस्पतालमा उनको उपचार चलिरहेको छ । उनको रगतमा समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ । चिकित्सकहरुले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।