निमाराज तामाङ, ताप्लेजुङ ।
नेपाली साहित्य क्षेत्रमा स्वर्ण अक्षरमा धेरै साहित्यकारका नाम लेखिएका छन् । जसको कारण भनेको समसामयिक विषयलाई सृजना मार्फत आम पाठकहरु समक्ष पुर्याउन सक्नु नै हो । साहित्य एकै किसिमको हुदैन, कसैले प्रकृति प्रति लक्षित साहित्य कोर्छन् त, कसैले सामाजिक विषयलाई उत्थान गरेको पाईन्छ । कसैले माया प्रेमलाई माथि उठाउछन् त कसैले देश प्रेमलाई साहित्य द्वारा प्रस्तुत गर्छन् । जसरी जसले साहित्यलाई लेखेका भएतापनि साहित्य भित्र रहेर नै गरेका हुन्छन् ।
नेपाली साहित्य क्षेत्रमा निरन्तर कलम चलाउदै आएका खादबारी नगरपालिका ७ संखुवासभामा जन्मनु भएका सुजन अधिकारी ‘बिन्दास’ ले प्रकृति प्रेमलाई साहित्य मार्फत देखाउन खोजेका छन् । नेपाल संघिय संरचना अन्तर्गतमा संरचित भएपछि एक नम्बर प्रदेशमा रहेका विशेष पर्यटकीय स्थलहरुको पहिचानलाई आफ्नो कवितामा उल्लेख गरेका छन् ।
आउनुहोस् कवि सुजन अधिकारी ‘बिन्दास’ द्वारा लिखित “एक नम्बर रमाइलो ” नामक कविता पढौ ।
“एक नम्बर रमाइलो “
शिरैको टोपी सगरमाथा हेर्दामा क्या राम्रो
नाम्चेको बजार अतिथि सत्कार पहिचान हो हाम्रो
कञ्चनजघां मुस्काउदै उता मकालु हेर्दछ
पाथिभरा दर्शन गर्न जाउ भनि फक्तालुङ्ग भन्दछ
अरुण नै किनार मनकामना धाम संखुवासभा बोलाउछ
शिवको धारा झरेको देखी बरुण नि रमाउछ
दन्तकाली माता आशिवार्द दिदै पिण्डेश्वर बोलाउछन
घुम्नलाई सुन्दर धरानै बजार बुढासुब्बा भन्दछन् ।
कन्यामै पारी फिक्कलै पारी इलामै शहर छ
चियाको बगान, माइपोखरी घुम्ने सबैको रहर छ
फिदिमै बजार, यासोक, रवि,जोरसाल बजार
जोरपोखरी पुगी धानै र नाँचौ रमाइलो पाँचथर
कोशीको टप्पु अर्नाको चरन भडेटार हेर्दा छ
झापालाई सिञ्चित गर्दै मेची मायाले बेर्दछ
टक्सारमा भेटी सिद्धकाली दर्शन भोजपुरमा गरौला
दिङ्गला नै हुदै योगमाया भुमी मझुवा नि झरौला
विराटनगरबाट गाडी नै चढी किमाथाङ्का नि पुगौला
ओलाङ्गचुङ्गगोला मोटरमा पुगी बिर्तामोड झरौला
गुँरासै टिप्न जलजले मिल्के पुगेर रमाउला
म्याङलुङ्गै पुगी तेह्रथुमे ढाका चिनो नि किनौला
तिनजुरे चढी अतिथी सत्कार गुँरासै समाउछन्
ह्यातुङ्ग झरना झरझर गदै तेह्रथुममा रमाउछन्
सुनैको बालुवा किनारै छाडी सुनकोशी बगेको
ढुङ्गाको ओखल आगनमा राखी ओखलढुङ्गा हाँसेको
गाइघाटै घुमी त्रिवेणी पुगी पुण्य नि कमाउला
पोखरी रौता, झिल्के, ताप्लि हेरेर रमाउला
हलेशी महादेब दर्शन गरी खोटाङ नि बसौला
ट्याम्केको डाँडो रमिता हेरी डोरेश्वर पसौला
हिलेको ठन्डी तोङवाको स्वाद धनकुटा बजार
राजारानी घुमौ छिन्ताङ देवि मनमा सजाएर
किच्चकबध, अर्जुनधारा, केचना नि घुमौला
झापाको माया जामुनखाडी, दोमुखामा बुनौला
रमाइलो घुम्न गोकुलम रिसोर्ट, बेतना सिमसार
बागझोडा, राजा धनपालथान रमाइलो संसार
मण्ठपोखरी सुन्दर, हसेनी सिमसार, बेतिनी पोखरी
मोरङ्ग जिल्ला याद आउछ हजार सम्झना मन भरी
घामको झुल्को अन्तुको डाँडा पुर्व नै घमाइलो
एकबारको जुनी पुग्नै पर्ने एक नम्बर रमाइलो
जात र जाती, भाषा र भेष संस्कृती खाल्खाल्के
आएका जति पर्यटक भन्छन् लौ अब म पल्के
–अधिकारी सुजन
२०७५/०८/१४