काठमाडौं । निर्वाचन आयोगले चैत ५ गतेबाट मतपत्र छाप्ने काम सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले आज रक्षा मन्त्रालयलाई पत्र लेखेर जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको छपाइ मेशिनको सुरक्षा दिन निर्देशन दिएको छ ।

निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइका क्रममा त्यसको सुरक्षाको जिम्मा निर्वाचन आयोगले नेपाली सेनालाई दिँदै आएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार चैत २ गते साँझदेखि नै जनक शिक्षा सामाग्री केन्द्रको सुरक्षा नेपाली सेनाले दिन थाल्नेछ । आयोगले जनक शिक्षा सामाग्री केन्द्रलाई पनि मंगलबारै पत्र लेखेर चैत्र २ गतेसम्म छपाइ मेशिन खाली गरिसक्न निर्देशन दिएको छ ।

चैत्र २ गते साँझदेखि जनक शिक्षा सामाग्री केन्द्र नेपाली सेनाको सुरक्षामा आयोगको नियन्त्रणमा हुनेछ । शर्माले भने, ‘कम्तिमा ५ गतेबाट मतपत्र छपाइ सुरु गर्ने आयोगको तयारी छ ।’

यस्तै आयोगले बुधबारसम्म निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूनालाई अन्तिम रुप दिनेछ । मतदाता शिक्षाका लागि यही नमूना मतपत्र प्रयोग गरिने छ । र, त्यही आधारमा अन्तिम मतपत्र तयार गरिने छ ।

बदर मत कम गरी निर्वाचनमा जनसहभागिता बढाउन आयोगले नमूना मतपत्रका माध्यमबाट देशभर पठाउने गर्छ । त्यसैका लागि भोलिसम्म आयोगले मतपत्रको नमूना टुंग्याउन लागेको हो ।

तपाईको प्रतिक्रिया