दिंला- भोजपुरको उत्तरी षडानन्द नगरपालिकाको केन्द्र दिंला बजार आसपासमा वितरण गरिएको ल्याण्डलाईन टेलिफोन र एडिएसएलमा एक वर्ष अघि देखि समस्या आएता पनि समाधान हुन सकेको छैन् । पटक पटक समस्याका वारेमा जानकारी दिंदा पनि टेलिकम कर्मचारीको वेवास्ताका गरेका कारण समस्या ज्यूँ का त्यूँ रहेको हो ।

षडानन्द नगरपालिकाको वडानम्वर- ७ मा रहेको टेलिकमको टावरमा जडान गरिएका ल्याण्डलाईन र एडिएसएलको व्याट्री(व्याकअप)मा एक वर्ष अघि देखि समस्या आएको छ । विद्युत लाईन जाने वित्तिकै सेवा अवरुद्ध हुन पुग्दछ । पटक पटक समस्याको वारेमा जानकारी दिंदा पनि टेलिकमले समस्या समाधानको कुनै प्रयास नगरेको दिंला उद्योग वाणिज्य संघका अध्यक्ष रमेश श्रेष्टको गुनासो छ । फोन तथा ईन्टरनेटको सेवा अवरुद्ध हुने वित्तिकै दैनिक काममा समेत अवरोध हुने गरेको छ । ईन्टरनेट सेवा अवरुद्ध हुने वित्तिकै लोक सेवा, शिक्षक सेवा, डिभि फाराम भर्ने लगायतका सेवा प्रदान गर्न समस्या आएको सुवास ट्रेड लिंकका प्रोपाईटर सुवास कठेतले वताए । दिंलावासीले ईन्टरनेर र फोन सेवा नियमित नहुँदा अनावस्यक शुल्क तिरिरहनुपरेको वताएका छन् । चाहेको समयमा सेवा उपभोग गर्न नपाउँदा फोकटमा सेवा शुल्क तिरिरहनु परेको होटल व्यावसायी पवन राईको गुनासो छ ।

सर्वसाधारणको दैनिकी सँग जोडिएको समस्या समाधान नहुनुमा टेलिकमका कर्मचारीको गैरजिम्वेवारी मुख्य कारण देखिएको छ । नेपाल टेलिकम खाँदवारीका प्रमुख राधारमण भट्टराई प्राविधिक काम सवै धनकुटा टेलिकमले हेर्ने भएकोले धनकुटामै सम्पर्क गर्नु पर्ने भन्दै जिम्वेवारीवाट पन्छिन खोज्छन् । नेपाल टेलिकम धनकुटाले भने समस्याको वारेमा समयमा जानकारी नआएकोले यो समस्या समाधान गर्न नसकिएको वताएको छ । विराटनगर टेलिकम कार्यालय सँग समन्वय गरेर ३-४ दिन भित्रमै व्याट्री व्यवस्थापन गरेर समस्या समाधान गरिने धनकुटा टेलिकमका प्रमुख ज्ञाननाथ सापकोटाले जानकारी दिए । ४ वर्ष अघि सेवा जडान गरिएको दिंलामा ९६ वटा ल्याण्डलाईन र एडिएसएलको पोट जडान गरिएको छ ।

तपाईको प्रतिक्रिया