- –कृष्णविनोद लम्साल

शिक्षाका ज्योति, पूर्वी दर्शनका ज्ञाता तथा अष्टाङ्गयोग साधक श्री १०८ आवाल ब्रह्मचारी षडानन्द बालागुरुको जन्म जयन्ती विवाह पञ्चमीका दिन पर्दछ । वि.सं. १८९२ मा भोजपुर जिल्लाको दिङ्ला केउरेनीपानी ६ (हालको षडानन्द नगरपालिका ७) गडिगाउँमा जन्म भएको हो । पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणीदेवीको कान्छा सन्तानका रुपमा यिनको जन्मभएको हो । यिनी गर्भे टुहुरा जन्मिएका हुन् ।

यिनको पुर्खौली घर दिङ्लाको मूलपानी गा.वि.स.को जामुनेमा हो । तर त्यो ठाँउमा केटाकेटीको लालनपालन गर्न कठिनाई भएकाले उनीहरु रुक्मिणीको माइती गडीगाउँमा सरेका थिए । त्यही हाल बालागुरुका नामले प्रसिद्ध षडानन्दको जन्म भएको हो । त्यो ठाउँ त्यहाँका जनताको प्रयासका कारण अहिले पनि सुरक्षित छ । त्यहीँ नै लक्ष्मीनारायणको देहावसान भएकाले आमा र दिदीले उनको लालनपालन स्याहार सुसार गरेर हुर्काएका थिए ।

यिनको जन्म भएपछि यिनकी दिदीले षडानन्दको सालनाल गडिगाँउ सिरानमा रहेको टुडीखेल मुनी लगेर गाडेर त्यो माटोमा पिपलको रुख रोपेकी थिइन । “यो रुखले जस्तै मेरा भाईले सबैलाई छहारी दिन सकोस र सर्वत्र सुकीर्ति फैलियोस् ”भन्ने कामना गरेकी थिइन भन्ने जनश्रुति अद्यापि प्रचलित छ । हिन्दु धर्मालम्वी ब्राह्मण परपम्परा अनुसार यिनको आठबर्षमा व्रतवन्ध भयो । व्रतवन्ध गरे लगत्तै विद्याध्ययनका लागि यिनी जनकपुर तर्फ प्रस्थान गरे । यिनी जनकपुर पुगेका भोलिपल्ट बिबाह पञ्चमी परेको थियो । विवाह पञ्चमीका दिन आफ्नो जन्म दिन पर्नु र जनकपुरमा ठूलो चहलपहल भएका कारण उनी त्यहीँ बिद्याध्ययन गर्न जनकपुरमा बसे ।

आठबर्ष जनकपुरमा विद्याध्ययन गरे । अरु बिद्याआर्जन गर्न बनारस गए । बनारसका सन्त सच्चिदानन्दका समिपमा रहेर विभिन्न प्रकारका दर्शनहरुको अध्ययन गरेर योगाभ्यास गरे । अष्टाङ्ग योगसिद्धि प्राप्त गर्न कठोर तपस्या गर्नुपर्ने भएकाले पुनः जनकपुर मै फर्किएर त्यहीँनै कठोर तपस्या गरे । १२ बर्ष कठोर तपस्या र २४ पटक गायत्री पुरश्चरण गरे । आध्यात्मिक जगतमा २४पटक गायत्री पुरश्चरण गर्ने कार्य अद्वितीय र अतुलनीय मानिन्छ । २४ पटक गायत्री पुरश्चरण भनेको ५ करोड ७६ लाख पटक गायत्री मन्त्र जप गर्नु हो ।

उनी २४ पटक गायत्री पुरश्चरणले खारिएका थिए । अष्टाङ्गयोगका ज्ञाता तथा साधक भएकाले षडानन्द बालागुरु जे गर्न पनि सक्तथे । अणु जस्तै भएर रुमाल ओछ्याएर अरुण नदी तर्दथे । उनी पकाएका ठाउँमा प्रवेश गरेपछि नपुग्ने कुरा पनि पुग्ने परिबन्द मिलाई दिएका कारण गुरुमहाराज प्रवेश गरेपछि सबै परिपूर्ण हुन्छ भनिन्थ्यो । उनले जे बोले पनि सफल हुन्थ्यो, उनको बाकसिद्धि थियो । आदि कुरा यथार्थमा वा किंवदन्तिका रुपमा अद्यापि प्रचलित छन् ।
सनातन बैदिक धर्मदर्शनको जीवनपथ अंगालेका सदाचारी र सदगुणी बालागुरु षडानन्द आफुसँग रहेका सबै गुणहरु जनजनमा वितरण गर्न लालायित थिए । फलत ः उनी वि.स. १९३१ मा आफ्नो जन्मभूमि दिङ्ला फर्किए । उनी घर पुगेका भोलिपल्टै उनकी आमाको मृत्यु भयो । एकबर्ष मातृशोकमा रहेर बसे ।

वि.स. १९३२ मा कैलाशडाँडामा गुरुकुल पद्धतिको बिद्यालय स्थापना गरे । त्यो विद्यालयमा व्राह्मण, क्षत्री, श्रेष्ठ र राईहरु पढ्दथे । २४ बर्ष षडानन्दले स्थापना गरेको विद्यालय चलेपछि त्यस ठाँउमा पानी लगायत अनेक चिजको अभाव भएकाले र भौगोलिक बिकटताका कारण वि.सं. १९६६ मा अहिलेको सीताराम र षडेश्वर महादेवको मन्दिर रहेका ठाउँमा विद्यालय लगायत सबै संरचना सरे । त्यहाँ सीतारामको मन्दिर बनाए । शिवलिङ्गको स्थापना गरे । मन्दिरका लागि र पढ्ने विद्यार्थीलाई समेत पुग्ने अन्न उब्जिने जमिन जोडे । षडानन्दले गुठीकालागि जमिन माग्दा घरघर डुलेर, हैसियत बुझेर,पर्गेलेर मागेकाले शिक्षाको ज्योतिबाल्ने उनको अभियान सफल भयो । बिद्यालय तथा मन्दिर स्थापना गर्ने सत्कार्यमा दिङ्लाबासी मात्र होइन वरपरका सबैले सहयोग गरे । फलतःगुठीको स्थापना गर्न सफल भए । त्यो गुठीको आयस्ताबाट केके गर्ने भन्ने कुरा शिलालेखमा उल्लेख गरिएको छ । त्यो समय देखिनै दिङ्ला अध्यात्म र शिक्षाको केन्द्र बन्यो । वि.स. १९३२ देखि २००७ साल सम्मको नेपालको शैक्षिक इतिहास केलाउँदा ७५ बर्ष सम्म दिङलाले पुर्वाञ्चलमा शिक्षाको उज्यालो छरेको प्रष्ट हुन्छ ।

नेपालमा वि.सं. १९१० मा दरबार हाइस्कुल स्थापना भएको हो । वि.सं. १९३४ मा रानीपोखरी संस्कृत पाठशाला स्थापना भएको हो । त्यसैपनि राणाहरुको उदय भएका बखत नेपालमा पाठशाला स्थापना गर्नु कम चुनौतीपूर्ण काम थिएन । अतः जनस्तरमा सामुदायिक विद्यालय सञ्चालन गर्ने यी महापुरुषलाई अहिलेसम्म राष्ट्रले चिन्न सकेको छैन । षडानन्द बालागुरुलाई राष्ट्रिय विभूतिको दर्जा दिइएको छैन ।

मन्दिरहरु निर्माण गरेर पाठशाला स्थापना गरेका यी नेपाल आमाका सपुतले सतीप्रथा हटाए । सामुदायिक वनको अवधारणा ल्याइएका कारण दिङ्लाभञ्ज्याङ् ओरपरको जङ्गललाई अहिले पनि जगेडाको वन भनिन्छ । रुद्राक्ष दिङ्ला प्रवेश गराउने यिनै सन्त हुन् । दिङ्लाबासी र वरिपरीका मान्छे अहिले रुद्राक्ष रोपेर त्यसका दानाको व्यापारबाट करोडौं आर्जन गरिरहेका छन् ।

जनजनमा भिजेर शिक्षा र आध्यात्मको उन्नयनमा लागेका यिनलाई सबै नेपालीले चिन्नु पर्दछ । बि.स.ं १९७३ सालमा काठमाडौमा यिनको देहावसान भयो । बालागुरुले प्रचलनमा ल्याएका सद्गुण र सदाविचार बुझ्न र सुन्न दिङ्ला नै जानुपर्दछ । सदमीका अवसरमा रथयात्रा गरेर सत्विज छर्न हजारौं मान्छे दिङ्ला पुग्दछन् । त्यो षडानन्दले सञ्चालन गरेको विशिष्ट प्रकारको आध्यात्मिक प्रचलन हो । रामनवमीमा पनि मेला लाग्दछ । यी धार्मिक पर्वहरुमा बालन, भजन, संगिनी आदि लोकपरम्परा सुन्न पाइन्छ । मेला लागेको ठाँउमा लोकदोहोरी र लोकभाकाका गीतहरु रातैभर गाइन्छन् । रामनवमी र सद्मीका अवसरमा यो क्षेत्रमा लोकभाका फेरिन्छन् ।

आध्यात्मिक शैक्षिक र लौकिक जागरण गराउने सन्तशिरोमणि श्री १०८ आवालव्रह्मचारी षडानन्द बालागुरुलाई राष्ट्रियविभूतिको सम्मान प्रदान गर्न सरकारलाई केले छेकेको छ ? बुझ्न् सकिएको छैन । २०५१ सालमा तात्कालिन मन्त्रिपरिषद्को निर्णयले रु ७।– दरको हुलाक टिकट प्रकाशनमा ल्याएको थियो । त्यो भन्दापछि अन्य कुनै अवसरमा राष्ट्रियस्तरका सम्झना गरिएको छैन । यस्तो किन भईरहेकोछ ? राष्ट्रियविभूति हुने मापदण्ड केके हुन् ? भनेर दिङ्लावासि सहित षडानन्दका सुकीर्ति र सुविचारको प्रचार गर्नेहेतुले स्थापना गरिएका इटहरी ,विराटनगर र काठमाण्डौका संस्थाका पदाधिकारी जान्न चाहिरहेका छन् ।

यसै सन्दर्भमा वि.स. २०५७ सालदेखि सुनसरीको इटहरीमा “षडानन्द स्मृति प्रतिष्ठान” सञ्चालित छ । यस संस्थाका लागि भू.पु. प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालकी धर्मपत्नी (हाल स्वर्गीय) आशालता रिजाल र उहाँका छोराहरुले इटहरी चोकबाट पश्चिम हालको पूर्बक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयसँग राजमार्गमा २ कठ्ठा जग्गा प्रदान गर्नु भएको छ । त्यसठाँउमा पदमकुमारी लम्सालले निर्माण गरिदिनु भएको षडानन्दको मुर्ति स्थापना गरिएको छ । त्यो रु एकलाख असी हजारको लागतमा तयार भएको हो । यही जग्गामा जन सहयोगबाट चन्दा संकलन गरी षडेश्वर शिव मन्दिर बनाइएको छ । त्यो मन्दिरको तत्कालिन उद्योग वाणिज्य मन्त्री शंकरप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको हो । अहिले त्यहाँ षडानन्द स्मृति सामुदायिक भवन निर्माण भैरहेको छ । त्यो भवन निर्माण गर्न नेपाल सरकारबाट रु १६ लाख अनुदान प्राप्त भएको छ । षडानन्दका सुकीर्ति्किरण फैल्याउन लागिपरेको यो संस्था षडानन्दलाई राष्ट्रिय विभूति घोषणा नगरिएकोमा नेपाल सरकारसँग रुष्टछ । आपत्ति र क्षोभ प्रकट गरिरहेको छ ।

शिक्षाको ज्योति छर्ने सिद्धपुरुष षडानन्द बालागुरुलाई राष्ट्रिय विभूति घोषणा नगरेर सरकारले वेवास्ता गरेको प्रष्ट छ । दिङ्लास्थित विद्यालय तथा उनको प्रयासबाट सिर्जित गुठीको अहिले ब्यवस्थित गर्ने पहल प्रयत्नको सूत्रपात भएको पाइन्छ । तर पनि राजनीतिका नाममा कब्जा मनोवृत्ति बोकेकाहरुले गुठी कब्जा गरिरहेका पाइयो ।
“भाषा जसले पढ्यो त्यसैको हुन्छ” भन्ने नबुझेका अबुझहरुले संस्कृत भाषाकोे पठनपाठनलाई उनले स्थापनागरेको पाठशालाबाट हटाउन लगाए । अहिले पनि त्यो अवधारण बोकेको जमात छँर्दैछ । फलतः संस्कृत बिद्यालयमा बक्रदृष्टि लगाइन्छ । सकेसम्म गुठीको जग्गा हडप गर्ने, आयस्तामा कब्जा जमाउने ,गुठीको जग्गा बेदखली गर्ने आदि कार्यलाई निरुत्साहित गर्न गुठी समिति प्रयत्नशील रहेको पाइदैछ । यहाँका जनता पनि बेदखली हडप कार्यको विरोधमा छन् ।

त्यसोत १ नं. प्रदेश सरकार र षडानन्द नगरपालिका पनि बालागुरु षडानन्दले सिर्जना गरेका सवै संरचनाको संरक्षण र संबद्र्धन गर्न लागि परेको पाइन्छ । सु–व्यवस्था मिलाइयोस् । गुठीको सुव्यवस्था मिलाउन गठित गुठी समितिलाई सबै पक्षबाट दह्रो सहयोग पु¥याउन सवैको ध्यान जानुपर्ने हुन्छ । यसो गरियो भने नेपालको शैक्षिक, आध्यात्मिक र सांस्कृतिक धरोहरको संवाहक बालागुरु षडानन्दका सुकीर्ति र दिङ्लाको समेत संरक्षण सम्वद्र्धन हुनेछ । अस्तुः

(लेखक यस षडानन्द संस्कृत माध्यमिक विद्यालयका भुतपुर्व विद्यार्थी र पत्रकार हुन्) ।

तपाईको प्रतिक्रिया