नगरको योजना चैत्र मसान्त भित्र सक्नु पर्ने समय तोकेका छौं नगर उप–प्रमुख मेरिका राई

नमस्कार ! उपमेयर ज्यू ,
नमस्कार !
आराम हुनुहुन्छ ?
आरामै छु ।
के मा व्यास्त हुनुहुन्छ ?
यतिबेला नगरको उप–प्रमुख भएको कारण योजना तर्जुमा गर्ने समयमा योजना तर्जूमामा व्यास्त हुन्छु भने अन्य समयमा न्यायीक समितिको संयोजक भएको कारण न्यायिक समितिको निति सम्पादन र कार्यन्वयमा व्यस्त भईन्छ । अरु समयमा योजनाको अनुगमनमा व्यस्त हुन्छु ।
न्यायिक समितिको संयोजक हुनुहुन्छ, कसरी जिम्वेवारी पूरा गरि रहनु भएको छ ?
न्यायीक समितिको कार्य्विधि पास गरेका छौं त्यहिँ कार्य्विधिमा रहेर न्याय सम्बन्धि कामहरु गरिरहेका छौं ।
न्यायिक समितिवाट अहिले सम्म के कस्ता कामहरु सम्पादन भएका छन् ?
नगरपालिकामा न्यायिक समितिलाई स्थानीय सरकार सञ्चालन ऐनको दफ्फा ४७ मा क र ख भनेर विभाजन गरेको छ । क मा १३ ओटा निर्णयहरु गर्न सक्ने अधिकार दिएको छ त्यसमा रहेर त्यो निर्णयहरु भित्र रहेर आएको निवेदन माथि छलफल र कार्यन्वयन गर्न सक्छौं र हामीले पुनरावेदन पनि गर्न सक्छौं तर अन्य निवेदन माथि छलफल तथा कार्यन्वयन गर्न सक्दैनौं । स्थानीय सरकार सञ्चालन ऐन दफ्फा ४७ को ख मा रहेको ११ वटा समस्याहरुको हकमा मेलमिलाप मात्र गर्न सक्छौं । लिखित निर्णय गरेर कार्यन्वयन गर्न हामीलाई अधिकार दिएको छैन ।

समृद्ध नगर निर्माणका लागि के कस्ता योजनाहरु तर्जूमा गर्नू भएको छ ?

षडानन्द नगरपालिकाको भु बनौट हामी सबैलाई थाहानै छ हामी अरुण नदीको किनारमा बसेका छौ । कुनै भौतिक पुर्वधार तथा कुनै पनि विकासको कार्य गर्नको लागि हामीलाई बढि समस्या छ। अरुण नदी देखि कुनै विकासको लागि चाहिने सामान ल्याउन कठिन भएकोले हामीले अरुण नदीमा पक्की पुलको कामलाई विशेष ध्यानमा राखेर अघि बढेका थियौं । अरुण नदीमा पक्की पुल तत्काल नवन्ने अवस्था आएपछि अस्थाई समाधानको लागि अरुण नदीमा फेरीको लागि प्रतितिधी सांसद र प्रदेश सांसद ज्यूहरुले सांसद विकास कोषबाट बजेट विनियोजन गर्नू भएको थियो । हामीले फेरीको कामको लागि अख्तियारी ढिला पाएको कारण काम सम्पन्न गर्न सकेनौं । फेरीको बजेट फ्रिज भएर गएपछि नगरपालिकाले फेरीको लागि १ नम्बरको एजेण्डा फेरी नै हो । यो बर्ष सबै भन्दा ठुलो योजनाको रुपमा १ करोड ३० लाख फेरी निर्माणको लागि बजेट छुट्याएको छौं र विभिन्न वडामा विद्युत, सडक साथै खानेपानीको बजेट विनियोेजन गरेका छौं ।

नगर प्रमुखले बन्नु भएको छ अब नगरपालिका व्यावसायिक कृषिमा परिणत हुन्छ कृषिमा बजेट कति छुट्याउनु भएको छ ?
यहाँको ८० प्रतिशत जनता कृषिमा निर्भर भएको कारण कृषिमा बजेट नछुटिने हैन, यहाँ विभिन्न किसिमको कृषि उपजहरु उत्पादन हुन्छन् । कृषिमा थोरै लगानि गर्ने भनेर हैन धेरै नै गर्ने हो तर यहाँको उत्पादित वस्तुको बजार कहाँ हो भन्ने पनि अन्योल छ । यहाँ मौसमी कृषि उपजत जहिले पनि विक्रि हुन्छ तर वेमौसमी उत्पादन गर्न नसकिने भएकोले वेमौसमी कृषि उपजको लागि नगरपालिकाले व्यावस्था गर्ने योजना बनाईरहेका छौं । प्रदेश नंं १ का मुख्य मन्त्री संग पनि कृषिका लागि केहि माग पत्र बुझाएका छौं । नगरपालिकामा आएको सबै बजेट कृषिमा छुट्याउन सकिदैन र कृषिको लागि वृहत् योजना नगरपालिकाले मात्रै सक्दैनौं र प्रदेश संग सहकार्य गरेर अगाडी बढ्ने छौं । कृषक दाजुभाईहरुलाई केहि प्रोत्साहन र सहजको लागि केहि बजेट छुट्याएका छौं ।

षडानन्द नगरपालिका एक संस्कार र संस्कृत विद्यालय स्थापना भएको ठाँउ कला संस्कारको लागि कति बजेट विनियोजन गर्नू भएको छ ?
शिक्षाको ज्योति बाल्ने यो षडानन्द नगरपालिकामा गत बर्ष हामीले कला साहित्य र लोक संस्कृतिको लागि केहि बजेट छुट्याईएको थियो । त्यसलाई कार्यन्वयन गर्न सकिएन हामिले केहि बजेट छुट्याएका थियौं तर जिम्वेवार र जिम्मा लिने व्याक्तिहरुले कार्यन्वयन गरेनन् । यो बर्ष कला साहित्यको लागि यतिनै भनेर बजेट छुट्याएका छैनौं तर अति आवश्यक अनि लोक संस्कार र संस्कृति झल्किने किसिमको संस्कृतिक कार्यको लागि नगरपालिकाले सहयोग गर्न सक्ने कोष नगरपालिकामा छ ।

नगरको योजना असारे विकास भनेर चिनिन्छ त्यस कार्यको अनुगमन प्रभावकारी हुन्छ ?
नगरको योजना असारे विकासको नामले चिनिनुमा नगरपालिकामा कर्मचारी अभावको कारण पनि हो । अर्को कुरा नगरपालिकाले छुट्याएको बजेट सञ्चालन गर्ने उपभोक्ता समितिलाई पनि काम गर्नु भन्दा हामीले काम जहिले गरे पनि हामीले बजेटको पैसा निकाल्न मिल्ने असारमा हो भन्छन् त्यसकारण पनि नगरपालिकाले छुट्याईएको योजना असारे विकासमा परिणत भईरहेको छ । योजनाको काम सञ्चालन हुनु भन्दा अगाडी सबै ठाँउ पुग्न सक्छौं तर योजना सञ्चालन भए पछि सबै तिर एकै समयमा योजना सञ्चालन हुने भएकोले योजना सम्पन्न भएको सबै ठाँउमा पुग्न नसक्दा प्रभावकारी अनुगमन गर्न सकेका छैनै तर यो बर्ष देखि त्यस्ता खालको समस्याको समधान गरेर प्रभावकारी अनुगमन गर्ने योजना तय भएको छ । यो भन्दा आगाडीको बर्षहरुमा कहिले काम सुरु गर्न अनि कहिले सक्ने भन्ने थिएन तर यो बर्ष नगरपालिकाले नगरको योजनाहरु चैत्र मसान्त भित्र सक्नु पर्ने भन्ने समय तोकेको छ त्यस कारण यो बर्ष असारे विकास हुदैन । यो बर्ष अब मंसिर १५ गते पछि नै मेरो संयोजकत्वमा नगरपालिका भित्र रहनुभएका अपांग दाजुभाईहरुलाई परिचय पत्र बाँढ्दै छौं र नगरपालिकामा भएको कर्मचारी साथीहरु नगरबाट छुट्याईएको योजनाको उपभोक्ता समितिमा वस्नुभएका उपभोक्ता समितिहरुलाई अभिमुखिकरण तालिमको लागि लाग्नुहुने छ । त्यसकारण यो बर्ष नगरबाट आएको योजना समयमै सकिने छ ।

नगरपालिकामा काम गर्दा आई पर्ने मुख्या समस्यहरु के के छन् ?
नगरपालिकामा पहिलो समस्या भनेको कर्मचारी समायोजन पनि हो कर्मचारी समायोन हुँदा जाने कर्मचारी १० भन्दा बढी हुन्छ तर आउने कर्मचारीहरु यहाँ आउन मान्नुहुन्न । १० जना जानुहुन्छ २ जना आउनु हुन्छ । जनप्रतिनिधीहरु सबै कुरा जानेर आएको हुदैन कर्मचारीहरु आएर आफ्नो शाखामा बसेर निरन्तर काम गर्ने हो भने नगरपालिकामा त्यस्तो ठुलो समस्या आउदैन र नगरको विकास पनि सहजै हुने थियो ।
काम भन्दा धेरै आश्वासन दिनुहुन्छ भन्ने आरोप छ के साँचो हो ?
हामी जनप्रतिनिधी भए पछि देखिएका र भएका समस्याहरु सबै हल गर्न मन लाग्छ । हामी धेरै महत्वकांक्षी भएका छौ भनेको कुरा अहिले नै पुरा हुनु पर्छ भन्ने तिर लाग्छैं तर विकास भनेको छिन भरमै हुदैन । हामिले भईरहेको वा सुरु गर्दै गरेको कामहरु र गर्नू पर्ने कामहरुको बरोमा बोलेका हुन्छौं तर आम जनतालाई बोलेको कुरा अहिलेनै पुरा भईहाल्नु पर्छ भन्ने तरिकाले कुरा गर्नू हुन्छ काम भईरहेको छ र केहि हुन बाँकी पनि छ त्यसलाई पनि अब हामी छिट्टै गर्ने छौ । । धेरै कामहरुत गरिरहेकैै छौं तर काम गर्दै जाँदा कतिपए बोलेका कुराहरु पुरा गर्न सकिएन होला त्यसमा त जनताले आरोप लागाउने र गल्तिहरुलाई देखाएर हामीलाई सुधार्ने कुरात स्वभाविकनै हो जस्तो लाग्छ ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?
नगरपालिकाले अहिले सम्म गरेका कामहरु आम नगरवासीलाई पु¥याउन सहयोग गर्नु भएकोमा दिङ्ला खबरलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । अहिले सम्म नगर भित्रका सबै दाजुभाई तथा दिदि बहिनिहरुले सहयोग गर्नु भएको छ र अझै यस्तै सहयोगको अपेक्षा र विश्वास राखेकी छु ।

कुराकानीको लागि समय दिनु भएकोमा धेरै धेरै धन्यवाद ।
आफ्नो विचार तथा नगरको गतिविधीलाई प्रष्ट पार्न सहयोग गर्नू भएकोमा दिङ्ला खबर साप्ताहिक परिवारलाई पनि धेरै धेरै धन्यवाद ।