भोजपुरकी हेमा श्रेष्ठलाई प्रहरीले लाठी वर्षाएको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । देशैभर नागरिक र प्रहरीबीचको दूरी बढाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेको वेला बेला प्रहरीबाटै हुने एकाध व्यवहार र कार्यशैलीले उसैको अभियानलाई ‘खिल्ली’ उडाइरहेको भान दिन्छ ।

कुरा हो बिहीबार दिउँसोको । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी एक महिलामाथि लाठी बर्साएका छन् । महिलालाई लाठी हानेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रहरीको एक जिम्मेवार अधिकृतले एक बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गरेको दृश्यले प्रहरी सङ्गठनको नारा एउटा र व्यवहार अर्को देखिएको स्पष्ट पार्छ ।

प्रहरीको निर्मम कुटाइ खाने ती महिला हुन् भोजपुरकी हेमा श्रेष्ठ । जो आफै पनि पछिल्ला केही महिनायता सामाजिक सञ्जालहरुमा भाइरल छिन् । श्रीमानले अन्याय गरेको, हेला गरेको भन्दै बच्चा काखमा च्यापेर प्रहरी कार्यलयमा देखिने गरेकी हेमालाई युट्युबरले लगातार पछ्याइरहेका छन् ।

तर, बिहीबारको यो घटनाको कथा भने बेग्लै छ । भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौडेलले श्रेष्ठलाई लाठी हानेका हुन् । खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले श्रेष्ठलाई लाठीचार्ज गरेका हुन् ।

खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको भन्दै माला शाह नाम गरेकी महिलाले श्रेष्ठसँगै केही महिलालाई साथमा लिएर खत्रीको घर पुगेकी थिइन् । महिलाहरुको भिड देखेपछि खत्रीले प्रहरीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेका इन्सपेक्टर पौडेलले महिलामाथि बल प्रयोग गरेका हुन् ।

भिडियोमा देखिएका बेला बच्चालाई पिठ्युँमा बोकेकी श्रेष्ठलाई प्रहरीले गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेको छ । काखमा बच्चा बोकिरहेकी महिलालाई लाठीले पछाडिबाट जोडजोडले हिर्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहेका देखिन्छ । पछि प्रहरीले ४ महिलालाई नियन्त्रणमा लिएको छ ।

यता, इन्सपेक्टर पौडेलले आफूले लाठी हानेको स्वीकारेका छन् । अर्काको घरभित्र छिरेर तोडफोड गरेपछि सामान्य बल मात्र प्रयोग गरिएको इन्सपेक्टर पौडेलको भनाइ छ । घटना हुँदा महिला प्रहरी पनि घटनास्थलमै रहेको बताएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले घटनामा दोषी देखिए कानुनअनुसार सशक्त रुपमा कारबाही हुने बताए । उनले भने, ‘दोषी देखिए कसैलाई पनि छोडिन्न । पौडेलमाथि अनुसन्धान सुरु भइसकेको छ ।’

तपाईको प्रतिक्रिया