काठमाडौँ — भोजपुरको ट्याम्के मैयुङ गाउँपालिका–८ गोगनेका जुम्ल्याहा दाजुभाइ एकसाथ ब्रिटिस गोर्खा सैनिकमा भर्ती भएका छन् । पोखरामा हालैको छनोट चरण पार गर्दै धैर्यशिल र क्रियाशिल राई ‘लाहुरे’ बनेका हुन् ।

दाजु धैर्यशील बीबीए सातौं सेमेस्टरमा र क्रियाशील बीबीएस दोस्रो वर्षमा पढ्दै थिए । उनीहरूका बुबा शिवकुमार भने छोराहरूलाई नेपाल सरकारको अधिकृत भएको देख्न चाहन्थे । ‘छोराहरू भर्ती भएर जाऊन् भन्ने लागेको थिएन तर दबाब दिइनँ । उनीहरूले आफ्नो इच्छा पूरा गरेका छन्, त्यसैमा खुसी लागेको छ,’ उनले भने । आफ्ना दाइ परिवारसहित बेलायतमै रहेकाले पनि छोराहरूलाई नरोकेको शिवकुमारले बताए ।

२१ वर्षीय जुम्ल्याहा दाजुभाइले राजधानीको क्लासरूम एकेडेमीबाट प्रशिक्षण लिएका थिए । ‘प्रशिक्षणमा आउँदा दाजुभाइ छुट्याउनै गाह्रो भयो,’ एकेडेमीका प्रबन्ध निर्देशक विनोद राईले भने, ‘भाइ नामजस्तै क्रियाशील छन् ।’ ब्रिटिस गोर्खा सैनिकमा यस पटक ५४ जिल्लाका २३ जातजातिका ४ सय ३२ युवा भर्ती भएका छन् ।

जानकारका अनुसार यो संख्या र प्रतिनिधित्व अहिलेसम्मकै बढी हो । ब्रिटिस गोर्खा सैनिकमा भर्ती हुन थालेको २ सय ६ वर्ष पुगेको छ । बेलायतले सुरुवाती बखतमा राई, लिम्बू, गुरुङ, मगर, तामाङ जातिबाट भर्ती गर्थ्यो । अहिले पहाड, हिमाल र तराईका सबै जातजातिका युवालाई भर्ती लिने गरेको छ ।

बेलायतले ब्रिटिस गोर्खा सैनिक भर्ती हुनेको संख्या बढाएको छ । सन् २०१८ सम्म ३ सय २० जनाको दरले भर्ती गर्थ्यो । गत वर्ष ४ सय जना भर्ती लियो । अहिले ब्रिटिस गोर्खामा फस्ट रोयल गोर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गोर्खा रेजिमेन्ट (टूआरजीआर) मात्र रहेका छन् । सन् २०२१ देखि ‘थ्रीआरजीआर’ थप्ने नीति लिइएपछि क्रमशः नेपालबाट भर्ती संख्या बढाइएको हो ।

तपाईको प्रतिक्रिया