विश्वभर कोरोनाभाइरस अर्थात् कोभिड-१९ को समाचार जताततै आउन थालेदेखि यसको नियन्त्रण, रोकथाम र क्वारोन्टाइनप्रति सबैको ध्यानाकर्षण भएको छ। सङ्‌क्रमण देखिएका ठाउँमा हुनुहुन्छ भने राम्रोसँग हात धुने र भीडभाडदेखि टाढा रहनु राम्रो उपाय हुन्छ, तर यसबोहक आफ्नो शरीरको प्रतिरक्षात्मक क्षमता बढाउनु पनि यदि सङ्‌क्रमण भइहालेमा प्रभावकारी कदम हुनेछ।

हाम्रो शरीरको प्रतिरक्षात्मक क्षमताले कुनै पनि रोग वा सङ्‌क्रमणविरुद्ध लड्न सहयोग गर्छ। जीवाणु, भाइरस, ढुसी, परजीवी वा क्यान्सरजस्ता अनावश्यक चीजलगायत अन्य शरीरइतरका चीज पहिचान गर्न र त्यसलाई विनाश गर्न हाम्रो शरीरको प्रतिरक्षात्मक क्षमता सक्षम छ।

तनावबाट मुक्त हुन लामो सास फोर्नुहोस्, आराम लिनुहोस्, शान्त हुनुहोस्। अनि माइन्डफुलनेस, योग र सकारात्मक सोचजस्तो अभ्यास गर्न थाल्नुहोस्।


भाइरसलाई आफ्नै प्रोटिन उत्पादन गर्न हाम्रो शरीरको कोषाणु आवश्यक हुन्छ। कोषाणुभित्रै बाँच्ने भाइरस एक किसिमले परजीवी नै हो, यिनीहरू कोषाणुभित्रै वृद्धि हुन्छ र त्यसै कारण यसलाई जीवित मानिन्छ। भाइरसको सबैभन्दा ठूलो खतरा भनेको यसले सिपाही कोषाणुलाई सखाप पार्दै जान्छ। अर्को हिसाबले भन्नुपर्दा भाइरसलाई सखाप पार्न सिपाही कोषाणु क्रियाशील हुनुपर्छ।

प्रतिरक्षात्मक क्षमता व्यक्तिअनुसार फरक(फरक हुन्छ र अझ दिनअनुसार पनि फरक(फरक हुन्छ। कुनै सङ्‌क्रमणसँग लड्ने प्रतिरक्षात्मक प्रणालीको क्षमता धेरै तत्त्वले फरक पार्छ। कोभिड(१९ को सङ्‌क्रमण भएमा वा त्यसबाट बच्न यी केही उपायले तपाईंको शरीरको प्रतिरक्षात्मक क्षमता बढाउने सक्छ।

तनाव घटाउने

दिनहुँ नोभेल कोरोनाभाइरससम्बन्धी समाचारले तपाईंलाई सजिलै तनाव दिन सक्छ। कोही आवश्यक सरजाम र खानेकुरा तयार गर्न व्याकुल भएका छन्। यसरी पूर्वतयारी गर्नु त राम्रै हो, त्यो पनि विशेषतः कुनै ठूलो आपत् आइपरेको खण्डमा। तर, यसरी तनाव लिनुले चाहिँ शरीरको प्रतिरक्षात्मक क्षमतालाई हानि पुर्‌याउँछ र यस कारण भाइरसको सङ्‌क्रमणविरुद्ध लड्न कम प्रभावकारी हुन सक्छ।

शरीरविज्ञानको दृष्टिकोणबाट हेर्ने हो भने तनावले कर्टिसल नामक हर्मोनलाई असर पार्छ। यो हर्मोन आवश्यकभन्दा धेरै भएमा यसले रगतमा बढी जलन पैदा गर्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ। तनावले अझ लिम्फोसाइट्स अर्थात् शरीरको प्रतिरक्षात्मक प्रणालीको सिपाही कोषाणुको उत्पादनमा असर गर्छ, जस कारण तपाईंलाई भाइरस रोगको सङ्‌क्रमण हुन सक्छ।

विश्वभर यसरी सङ्‌क्रमण तीव्र हुँदै गर्दा सक्दो तनावबाट मुक्त हुनु जरुरी छ किनकि तनावले झन् स्थिति बिगार्छ मात्रै। याद गर्नुहोस्, तनावको असर थपिँदै जान्छ अर्थात् सामान्य दैनिक जीवनमा तनावले समेत पनि गम्भीर स्वास्थ्य असर गर्न सक्छ।

तनावबाट मुक्त हुन लामो सास फोर्नुहोस्, आराम लिनुहोस्, शान्त हुनुहोस्। अनि माइन्डफुलनेस, योग र सकारात्मक सोचजस्तो अभ्यास गर्न थाल्नुहोस्।

व्यायाम गर्नुहोस् तर धेरै होइन

नियमित व्यायामले मुटुको स्वास्थ्य राम्रो गर्छ, रक्तचाप घटाउँछ, शरीरको वजन नियन्त्रण गर्छ र रोगविरुद्ध प्रतिरोध पनि गर्छ। व्यायामले रक्तसञ्चार पनि राम्रो गर्छ र यस कारण प्रतिरक्षात्मक प्रणालीका कोषाणु शरीरभर फैलिएर आफ्नो कार्य राम्रोसँग गर्न सक्छ।

हुन त हालसम्म विज्ञानले व्यायाम र प्रतिरक्षात्मक प्रणालीबीच प्रत्यक्ष सम्बन्ध देखाउन सकेको छैन, तर सामान्य र नियमित व्यायामले वृहतर रूपमा स्वास्थ्य सुधार गर्छ र यससँगै बिरामी हुनबाट जोगाउँछ।

तर धेरै कठिन र लामो समयसम्मको व्यायामले जीउ पोल्ने बनाउन सक्छ, जसले प्रतिरक्षात्मक प्रणालीलाई असर गर्छ। त्यसैले विशेषतः यस्तो महामारीको बीच सक्दो धेरै कठिन व्यायाम नगर्नु उचित हुनेछ।

फलफूल र तरकारीसहित पौष्टिक खाना खानुहोस्

प्रतिरक्षात्मक प्रणाली शरीरको प्राकृतिक रक्षा प्रणाली हो र, कुनै सैनिक वा योद्धाजस्तै यसलाई पोषण चाहिन्छ। प्रायः यति त हामीले देख्दै र अनुभव गर्दै आएका छौँ कि गरिबीको रेखामुनि वा पौष्टिक आहार नपाएकाहरू रोगको सङ्‌क्रमणको चपेटामा पर्छन्।

केही अध्ययनले पौष्टिक तत्त्वको असर सीधै रोगको सङ्‌क्रमण गरेका छन्, तर धेरैजसो सूक्ष्म पौष्टिक तत्त्वको कमीले प्रतिरोधात्मक क्षमतलाई असर गर्छ। जिङ्‌क, सेलेनियम, आइरन, कपर, फोलिक एसिड, भिटामिन ए, बी ६, सी र ईजस्ता सूक्ष्म पौष्टिक तत्त्व कमी हुँदा शरीरको प्रतिरक्षात्मक क्षमता पनि घट्छ।

त्यसैले याद गर्नुहोस्, फलफूल र तरकारीसहितको पौष्टिक तत्त्वयुक्त खाना खानुहोस्। यसो गर्दा सक्दो सूक्ष्म पौष्टिक तत्त्व पनि कमी नहोस् भन्ने ख्याल गर्नुहोस्।

धूमपान नगर्नुहोस्

धूमपानले शरीरको प्रतिरक्षात्मक क्षमतालाई असर गर्छ। धेरैजसो धूमपान गर्नेहरू निमोनिया र इन्फ्युएन्जाजस्ता रोगबाट सङ्‌क्रमित हुन सक्छन्। यससँगै लामो समयसम्म बिरामी पर्ने र गम्भीर किसिमको रोग लाग्ने सम्भावना धूमपान गर्नेहरूलाई धेरै हुन्छ।

धेरैमध्ये यसको एउटा मुख्य कारण हो, रगतमा भिटामिन सीजस्ता एन्टिअक्सिडेन्ट नहुनु। धूमपानले शरीरको रक्षात्मक एन्टिअक्सिडेन्टको मात्रालाई कम गर्छ र यसैले गर्दा धूमपान गर्नेहरूको प्रतिरक्षात्मक क्षमता घट्न सक्छ।

राम्रोसँग सुत्नुहोस्

जो राम्रोसँग सुत्दैनन्, उनीहरू भाइरस सङ्‌क्रमण भएमा चाँडो बिरामी पर्नसक्ने विभिन्न अध्ययनहरूले देखाएको छ।

जब हामी सुत्छौँ, तब हाम्रो शरीरले साइटोकिन्स नामक प्रोटिन उत्पादन गर्छ। राम्रोसँग नसुते यसको उत्पादन घट्छ। शरीरमा केही सङ्‌क्रमण हुँदा वा जलन हुँदा साइटोकिन्स अत्यावश्यक हुन्छ। अझ तपाईँ राम्रोसँग सुत्नु भएन भने एन्टिबडी र प्रतिरक्षात्मक कोशाणुको उत्पादन पनि घट्छ।

सामान्यतः वयस्कका लागि ७ देखि ८ घन्टाको स्तरीय निद्रा आवश्यक हुन्छ। तर विद्यालय स्तरका बालबालिका र टिनएजर्सका लागि १० घन्टासम्मको निद्रा आवश्यक हुन्छ।

पूरक पोषणका बारेमा

केही औषधिजन्य उत्पादन वा हर्बल पूरक पोषणले शरीरको प्रतिरक्षात्मक क्षमता बढाउँछ वा रोगसँग लड्ने क्षमता बढाउँछ भन्ने दाबी गर्छन्। तर याद गर्नुहोस्, ती पूरक पोषणले प्रतिरक्षात्मक क्षमता नै बढाउँछ भन्ने कुनै अनुसन्धानात्मक प्रमाण हालसम्म छैन।

(जेटएमई साइन्स डटकममा प्रकाशित आलेखको भावानुवाद् )

तपाईको प्रतिक्रिया