काठमाडौं – चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।


चिनियाँ दूतावास एवम् सिन्चुवान प्रान्तले पुनः प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाईन्टी फाईब मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भ्यान्टिलेटर एक थान र क्वारेन्टाईन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ ।


त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले एन नाईन्टी फाईब मास्क १ लाख २ सय थान र पिसिआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ । चाईना सिएएमसि इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुन प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ । सिन्चुवान हुसी गु्रपले २ हजार थान पुन प्रयोग गर्न नमिल्ने मास्क, होङ्गसि सिमेन्ट कम्पनीले १ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री र पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ ।


स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे चिनियाँ राजदूत यान्छीले कोभिड १९ को समस्या कुनै पनि एउटा मुलुकको मात्रै समस्या र चासोको विषय नभएर विश्वव्यापी समस्या भएकाले आफ्नो मुलुक नेपाल सँगै अन्तरराष्ट्रिय स्तरमा नै सहयोग गर्न तयार रहेको बताइन् ।

सामान हस्तान्तरणपछि मन्त्री ढकालले चीनबाट प्राप्त सहयोगले नेपालमा कोभिड १९ को रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा सहयोगी हुने विश्वास व्यक्त गरे । असल छिमेकीको रुपमा एक अर्कालाई सहयोग गर्ने असल परम्परालाई कायम राख्दै चीन सरकार र चीनका विभिन्न संस्थाहरुबाट प्राप्त सहयोगको मन्त्री ढकालले प्रसंशा गर्दे ती संस्थालाई धन्यवाद पनि दिए ।

उनले भने, ‘सुरुमा यो रोग चीनमा मात्रै आउँछ कि भनेर चीनप्रति जुन खालको नकारात्मक संदेश भाव राख्नेहरुले पनि यो रोग फैलिएपछि यो रोग चीनको लागि मात्रै नभएर विश्वव्यापी महामारीको रुपमा फैलिएको र यो विश्वव्यापी महामारीको रुपमा फैलिएको रोगलाई पनि नियन्त्रण गर्ने कुराको नेतृत्व गर्ने चिनियाँ सरकार, राष्ट्रपति, प्रधानमन्त्री लगायत त्यहाँको कुशल नेतृत्वप्रति पनि म नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’


यी सामाग्रीले अप्ठ्यारो परेका बेला हाम्रा छिमेकी मित्र राष्ट्रहरु पनि हाम्रो साथमा छन् भन्ने आम नेपाली जनतालाई संदेश दिएको र उच्च मनोबलका साथ यो रोगका विरुद्ध लड्न प्रेरणा मिलेको भन्दै उनले चिनियाँ राजदूत लगायत सहयोगी संस्था र तीनका प्रतिनिधिलाई नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

तपाईको प्रतिक्रिया