लण्डन – बेलायतमा कोरोना संक्रमणबाट थप दुई भूतपूर्व गोर्खाहरु सहित चार नेपालीको मृत्यु भएको छ । लन्डनमा बस्दै आएका भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको आफन्तले जनाएका छन् ।

पर्वत पैंयूखोला स्थायी घर भई हाल लन्डनको वेम्ली बस्दै आएका ५९ वर्षीय गुरुङ तमुधिं लन्डन इकाइका वरिष्ठ उपाध्यक्ष थिए । तमुधिं लन्डन इकाइका पूर्व अध्यक्ष दीपक गुरुङ ‘डेभिड’ का अनुसार गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट ९जीटीआर० मा सेवा गरेका उनको आर्मी नम्बर २११६३२४१ हो ।


यसैगरी, बेलायतकै नटिङहममा बस्दै आएका अर्का एक भूतपूर्व गोर्खाको पनि मृत्यु भएको छ । ५८ वर्षीय शिव श्रेष्ठ विगत केहि दिनदेखि आइसोलेसनमा बस्दै आएका थिए । उनको नटिङहमस्थित स्थानीय हस्पिटलमा मृत्यु भएको हो । उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए ।

उनको मृत्यु कोरोनाबाटै भएको हो वा अन्य कुनै कारणले हो सो को पुष्टि भने भैसकेको छैन । बिहान ३ बजेतिर स्वास्थ्यस्थिति कमजोर भएपछि आफैले एम्बुलेन्स बोलाएर अस्पताल गएका श्रेष्ठको साँझ ५ बजे मृत्यु भएको हस्पिटलले जानकारी गराएको थियो । अस्पतालले कोरोनाको आशंका गरेपनि मृत्युको कारणबारे आधिकारिक रिपोर्ट बिहीबार मात्रै उपलब्ध हुने बताइएको छ ।

नेपालमा सोलुखुम्बु घर भएका श्रेष्ठ श्रीमती र दुई छोरासहित लामो समयदेखि नटिङहममा बस्दै आएका थिए । सामाजिक क्षेत्रमा समेत रुची राख्ने स्व श्रेष्ठ नेपाली समाज नटिङहमका संस्थापक सदस्य समेत रहेका थिए ।

यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वेलायतमा बुधबार साँझ सम्म ४ नेपाली सहित ७ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया