भोजपुर- कोरोना भाईरस (कोभिड १९ ) नियन्त्रणको निमित्त भोजपुरको उत्तरी साल्पासिलिछों गाँउपालिकाले गाँउपालिमा आवत जावतमा कडाई गरेको छ । गाँउपालिकाका मुख्य नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानीमा आवत जावतमा कडाई गरिएको गाउँपालिकाका अध्यक्ष महेशराईले खवरट्वीटलाई वताए ।

साल्पासिलिछो गाउँपालिका जोड्ने गौंडेनी,बुम्लीङ, ताँवुटार र दोभानेनाकामा गाँउपालिकाले हेल्थ डेक्स र सुरक्षाकर्मी सहित  कडाई गरिएको छ । गाँउपालिकाले विरामी र मरिमराउ वाहेककालाई आवत जावतमा पूर्ण रुपमा रोक लगाएको जनाएको छ । दैनिक सयौँको संख्यामा विदेश पर्यटकको आवागमन हुने प्रमुख पर्यटकीय एडमण्ड हिलारी पदमार्गमा आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ । संखुवासभाको तुम्लीङ्टार हुँदै सोलुखुम्बु जोड्ने एकमात्र पदमार्गमा आवतजावत पूर्ण रुपमा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

संक्रमणको जोखिम बढेको अवस्थामा छ, यहि एउटा पर्यटकीय पदमार्गमा पनि सयौँको संख्यामा विदेशीहरु भित्रिन्छन्, त्यसैले सर्तकता अपनाउन कडाई गरिएको र लकडाउनको अवधिपछि पनि पूर्ण रुपमा नियन्त्रणमा नआएसम्म आवतजावतमा कडाई गर्ने अध्यक्ष राईले बताएका छन् ।

तपाईको प्रतिक्रिया