- डा. विद्यानाथ कोइराला

बहुघेराका विद्यार्थी घेराहरूको योग हो, चक्रव्यूह हो, रणनीति हो– सिपाहीको प्रतिरक्षात्मक तरिका । महाभारतको कथाले त्यही भन्छ । अभिमन्यु तोड्न जान्छन् । कथा त्यसरी बढ्छ । तोड्छन् पनि । फर्कन जान्दैनन् । त्यहीं मारिन्छन् । कथा त्यत्ति हो ।

सञ्चारको भाषामा हामी त्यस्तै चक्रव्यूहमा छौं। पहिलो घेरामा विपन्न बालबालिका छौं। तिनका अभिभावक छौं। तिनका घरमा रेडियो छैन। टीभी छैन। कम्प्युटर छैन। फोन छैन। अनलाइन सुविधा छैन। दोस्रो घेरामा रेडियोवाला छौं। तेस्रो घेरामा टीभीवाला छौं। चौथो घेरामा फोनवाला छौं– ल्यान्डलाइनवाला, मोबाइलवाला। पाँचौं घेरामा नेटवर्किङ नभएका कम्प्युटरवाला छौं। छैटौं घेरामा अनलाइनवाला छौं– डाटा चलाउने, निश्चित घण्टाका लागि अनलाइन सुविधा लिने, चौबिसै घण्टा अनलाइन सुविधा पाउने। सातौं घेरामा सबै सुविधा पाउनेहरू छौं। हर घेरामा शिक्षा पुर्‍याउने कसरी ? परीक्षा लिने कसरी ? शिक्षक प्राध्यापक, कर्मचारी, नेतृत्व, अभिभावक, विद्यार्थी, व्यवस्थापन समिति आदिको तयारी गर्ने कसरी ? आधुनिक सञ्चारका साधनले कक्षाकोठाको काम गर्ने कसरी ? गराउने कसरी ? यो लेखले यही कुरा गरेको छ।

घेरैपिच्छे पढाउने तरिका

पहिलो घेराका विद्यार्थीले पढ्ने प्याकेज खोज्छन्। आजको गणितको पाठ। भाषाको पाठ। यसको अर्थ हो, अहिलेको पुस्तकलाई दैनिक पाठ योजनाका रूपमा तयार पार्नुपर्छ। भातको गाँसजस्तो। विद्यार्थीलाई रुटिन दिनुपर्छ। त्यही रुटिनअनुसार विद्यार्थीले घरमै पढ्छन्। घरमा पढ्न नसक्ने वा नपाउने बालबालिकालाई छिमेकमा आलोपालो भेला गरी पढाउनुपर्छ– विपन्नको हकमा, बाल कामदारको हकमा र सहाराहीनको हकमा। त्यसो गर्दा शिक्षक तथा विद्यार्थी बसाइको कोरोना दूरी कायम गर्नुपर्छ। यो शिक्षकको काम हो। उसैले गर्नैपर्छ। शिक्षक चाहिने समूह पनि त्यही नै हो। स्थानीय बस्तीमा शिक्षक छैन भने सम्भाव्य शिक्षक खोज्नुपर्छ। नेपाली अर्थको स्वयंसेवी। भृत्यज स्वयंसेवी। पुर्खाको शब्दमा पैसा लिएर पढाउने ‘स्वयंसेवी’।

यस्ता शिक्षकले चार तरिका अपनाउन सक्छन्। पहिलो कोरोना दूरी कायम गरेर नियमित तरिकाले पाठ पढाउने। दोस्रो विशेष प्याकेज पढाउने। तेस्रो पढाइसँग सम्बन्धित हुने गरी दैनन्दिनसँग जोडिएका कुरा पढाउने। चौथो जिम्मा लिएका विद्यार्थीलाई घरायसी शोध गरी पाठमा जोड्ने। कुन तरिका अपनाउने भन्ने कुरा शिक्षकको तागतमा भर पर्छ। प्राध्यापकको तागतमा भर पर्छ। प्याकेज भने सम्बन्धित शिक्षक तथा प्राध्यापकले नै बनाउनुपर्छ।

दोस्रो घेराका विद्यार्थीलाई रेडियोले पढाउनुपर्छ। रेडियोका पाठहरू पहिलो घेराकै हुन सक्छन्। शिक्षकको कामचाहिँ रेडियोले गर्छ। गर्नुपर्छ। एकोहोरो रेडियो हुन सक्छ। दोहोरो रेडियो हुन सक्छ। एकोहोरो रेडियोले विद्यार्थीको प्रश्न जम्मा गरेर पछि उत्तर दिन्छ। दोहोरो रेडियोले तत्कालै उत्तर दिन्छ। यसका निम्ति शिक्षक महासंघ तथा प्राध्यापक महासंघ जिम्मेवार हुनुपर्छ। पहल उनीहरूकै हुनुपर्छ। रेडियो नेटवर्कवालाहरूसँग सहकार्य गर्न। लगानी आवश्यक भए सरकार गुहार्नुपर्छ– स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार। यो घेराको शिक्षक सहजकर्ता हो, परिचालक हो। यो नयाँ भूमिकामा शिक्षक तयार पार्ने काम शिक्षक महासंघकै हो। प्राध्यापक महासंघकै हो। स्थानीय सरकारको तहमा स्थानीय शिक्षक महासंघको हो। क्याम्पस तहमा प्राध्यापक संघको हो। प्रदेश सरकारको तहमा प्रदेश शिक्षक महासंघको हो। संघीय सरकारको तहमा संघीय महासंघको हो। शिक्षकको हो र प्राध्यापकको हो।


तेस्रो घेराका विद्यार्थीलाई टेलिभिजनले पढाउनुपर्छ। यसका सामग्री मिदासमा छन्। कुल्यावमा छन्। शिक्षा मन्त्रालयकै पाठ्यक्रम विकास केन्द्रमा छन्। गैसस तथा अगैससमा छन। ती सामग्री बटुल्ने काम शिक्षक महासंघको हो। प्याब्सन तथा एनप्याब्सनको हो। टेलिभिजनको नेटवर्कसँग सहकार्य गर्ने काम पनि तिनैको हो। लाग्ने खर्चचाहिँ सरकारसँग माग्नुपर्छ। तीनै तहको सरकारसँग। यो घेराका विद्यार्थीलाई बेलाबखत संवाद गर्ने केही शिक्षक भए हुन्छ। यसका लागि टेलिभिजन नेटवर्कले कम्युनिटी टेलिभिजनको पहल गर्नुपर्छ। आलोपालो गरी हेर्न पाउने टेलिभिजन। कोराना दूरी कायम गर्ने टेलिभिजन। पाठ्यसामग्री उत्पादन गर्न बजारलाई लगाउनुपर्छ। पेसेवार तथा स्वेच्छाले काम गर्ने सिकारु (अमेचर) युवालाई यो काममा लगाउनुपर्छ। अहिले पनि टेलिभिजनहरूले यो काम गरेकै छन्। गराइरहेकै छन्। केवल विषयान्तर गर्नुपर्छ। लगानी स्थानीय, प्रदेश तथा संघीय सरकारसँग लिनुपर्ने हुन्छ।


चौथो घेराका विद्यार्थीलाई टेलिफोनले पढाउनुपर्छ। अहिले एकोहोरो कोरोना पढाइरहेछ, अब पाठ पढाउनुपर्छ। पढाउने पाठ सहज छ। फलानो सिनेमा हलमा यो सिनेमा छ भनेजस्तो। फलानो कक्षाको फलानो विषयको फलानो पाठ भने हुन्छ। पाठ बनाउने काम विद्यालयको हकमा शिक्षक महासंघको हो। क्याम्पसको हकमा प्राध्यापक महासंघको। निजी विद्यालय तथा क्याम्पसको हकमा तिनकै व्यवस्थापन समितिको र लगानीकर्ताको। उनीहरूले नै शिक्षक तथा प्राध्यापकलाई परिचालन गर्नुपर्छ। किनकि विषयगत विज्ञ तिनै हुन्। हुनु पनि पर्छ। फेसबुक चलाउने शिक्षक तथा प्राध्यापकले अर्को तरिका गर्नुपर्छ। अहिले पनि उनीहरूले फेसबुक चलाएकै छन्। कसैले डाटाबाट। कसैले नेटवर्कबाट। त्यस्ता शिक्षक तथा प्राध्यापकले विद्यार्थीको फेसबुक समूह बनाउनुपर्छ। अहिले पनि केही शिक्षक तथा प्राध्यापकले त्यो काम गरिरहेका छन्। विद्यार्थीले पनि त्यस्तो पढाइमा मज्जा मान्न थालेका छन्। स्कुल, कलेज जानेभन्दा यस्तो पढाइ पो रमाइलो रहेछ भन्ने महसुस गर्न थालेका छन्। यसैले अब शिक्षक तथा प्राध्यापकले यो कामलाई संस्थागत गर्नुपर्छ। त्यो उनैको जिम्मेवारी हो। बरु टेलिफोन प्रयोग गरेबापत लाग्ने रकम पालिकाहरूसँग मागे हुन्छ। प्रदेश तथा संघीय सरकारसँग मागे हुन्छ।


पाँचौं घेराका विद्यार्थीलाई अफलाइन सामग्रीमार्फत पढाउनुपर्छ। त्यसको सीडी डीभीडी वा पेनड्राइभ चाहिन्छ। अहिले उपलब्ध सामग्रीबाटै यो काम थाल्नुपर्छ। यो कामको जिम्मा विषय शिक्षकको हो। उसलाई परिचालन गर्ने काम शिक्षक महासंघको हो। प्राध्यापक महासंघको हो। प्याब्सन, एनप्याब्सनको हो। लगानीकर्ता भने फरक–फरक हुन सक्छन्– स्थानीय सरकार, प्रादेशिक सरकार, संघीय सरकार, विद्यार्थी शुल्क, अभिभावकको सहयोग।


छैटौं घेराका विद्यार्थीलाई अनलाइनमा पढाउनुपर्छ। ती सुविधाभोगी हुन्। एक त सहरका, नभए पनि सहरकै रसास्वादन गर्न पाएकाहरू। तिनलाई नियमित कक्षा चलाउनुपर्छ। तिनका लागि अहिलेकै पाठ्यसामग्री भए हुन्छ। कक्षा मात्रै भर्चुअल हो– भाइबरमा हो, म्यासेन्जरमा हो, स्काइपमा हो। बजारमा अनेकौं सफटवेयर छन्। निस्शुल्क पाइने, थोरै पैसाले पाइने– तिनलाई उपयोग गर्नुपर्छ। तिनका निम्ति स्कुल, कलेज धाउनै पर्दैन। स्कुल, कलेज तिनकै घरमा छन्। आउँछन्। त्यस्ता स्कुल, कलेजमा रेकर्ड गरेर पछि पढे पनि हुन्छ। तत्काल पढे पनि हुन्छ।


सातौं घेराका विद्यार्थीलाई जुनसुकै माध्यमबाट पनि पढ्न पाउने प्रबन्ध गर्नुपर्छ। रुचि विद्यार्थीको। उसका निम्ति माथिका कुनै पनि माध्यमका सामग्रीहरू उपयोगी हुन्छन्। विधि उपयोगी हुन्छन्। खालि ऊ जानकार भए हुन्छ। सुविधा तथा रहरअनुसार विद्यार्थीले ती सामग्री प्रयोग गर्न पाउँछन्। शिक्षक र प्रविधिको प्रयोग गर्न पाउँछन्।


सामना गर्नुपर्ने चुनौती

शिक्षक तथा प्राध्यापकको प्रवृत्ति कार्यगत तहको चुनौती हो। पेसाकर्मी बन्नरबनाउन नसकिएका तिनीहरूका संघ संगठनको रबैया दोस्रो चुनौती हो। तिनलाई परिचालन गर्न नसक्ने वा नखोज्ने स्थानीय सरकार, प्रदेश सरकार तथा स्वायत्त भनिएका तर ‘माथिको इसारा’ कुर्न बानी लागेका विश्वविद्यालयका पदाधिकारीको आसे नेतृत्व तेस्रो चुनौती हो। मैले नै गर्नुरगराउनुपर्छ भन्ने संघीय कर्मचारी तथा मन्त्रीहरूको बुद्धि चौथो चुनौती हो। सडकमा ओराल्न आ–आफ्ना दलका अरिंगाल तथा छौंडा ९प्रधानमन्त्रीको शब्दमा० बनेका शिक्षक, कर्मचारी तथा प्राध्यापकहरूलाई पठनपाठन त तिम्रो जिम्मा हो नि भन्नरभनाउन नसक्ने दलका नेताहरूको हविगत पाँचौं चुनौती हो।

चुनौती स्विकार्न चाहनेहरूका लागि समाधान

अहिले विकल्प भनिएका सातवटै घेरा भोलिका पूरक कार्यक्रम हुन्। नभए पनि बनाउनैपर्छ। त्यसको कारण हो– विद्यार्थी प्रविधिमैत्री हुँदै छ। परिणामतस् ऊ शिक्षकरप्राध्यापकभन्दा बढी सुसूचित छ। नभए पनि पक्का हुन्छ। शिक्षक वा प्राध्यापक त्यो मानेमा पछाडि छौं। यसले अनेकन समाधान जन्मिन्छन्।

क. सबैले चिच्याएर भन्नुपर्छ वैकल्पिक तरिकाले पठनपाठन गराउने काम तपाईं शिक्षककै हो। प्राध्यापककै हो। त्यसैले विकल्प सोच्नुस्। नभए हाम्रो विकल्पमा काम गर्नुस्।


ख. शिक्षक तथा प्राध्यापक प्रविधिमैत्री हुनैपर्छ। नभए बनाइनुपर्छ। प्रविधिमैत्री बन्न नसक्नेलाई ससम्मान जागिर छोड भन्नुपर्छ– स्कुल तहको हकमा स्थानीय सरकारले। क्याम्पसको हकमा क्याम्पस प्रमुखले। उसको तागतले नपुगे विश्वविद्यालयका पदाधिकारीले।


ग. पेसाकर्मीका संगठन हौं भन्ने शिक्षक तथा प्राध्यापकका स्थानीयरक्याम्पस तहदेखि प्रदेश एवं संघीय तहका नेतृत्वहरूले शिक्षकलाई अहिलेको वैकल्पिक शिक्षाको प्रबन्धमा होम्नै पर्छ। यही शिक्षा भोलि पूरक शिक्षा बन्छ। पर्सि मूलधार बन्छ। त्यसका लागि तयार बनौं। नत्र खैरियत छैन भन्नैपर्छ।


घ. स्थानीय, प्रदेश तथा संघीय सरकारको तहमा स्रोतकेन्द्रसहितको क्लियरिङ हाउस बनाउनैपर्छ। सम्बन्धित पालिकाले यो काम गर्नैपर्छ। प्रदेश तहमा प्रादेशिक सरकारले, संघीय तहमा संघीय सरकारले, क्याम्पस तहमा क्याम्पस प्रमुखले, विश्वविद्यालय तहमा विश्वविद्यालयका पदाधिकारीले यो काम गर्नैपर्छ। कसैले पनि किन्तु, परन्तु तर भन्न पाउँदैन। मिल्दैन। जसले भन्छ, त्यसले ससम्मान पेसा छोड्नुपर्छ।


ङ. देशका चिन्तक, सर्जक, उद्यमी आदिलाई देशले विचार माग्यो, देऊ भन्नुपर्छ। ताली बजाऊ हैन। राष्ट्रिय धुन बजाऊ हैन। मानव साङ्लो बनाऊ हैन। थाल ठटाऊ हैन। यसरी संकलित विचारहरूलाई सबै तहका स्रोतकेन्द्रसहितका क्लियरिङ हाउसहरूमा पठाउनुपर्छ। संकलन गर्नुपर्छ। वितरण गर्नुपर्छ।


च. बजारमा अभ्यास पुस्तिकाहरू उपलब्ध छन्। श्रव्य सामग्रीहरू छन्। दृश्य सामग्रीहरू छन्। श्रव्यदृश्य सामग्रीहरू छन्। अनलाइन सामग्रीहरू छन्। अफलाइन सामग्रीहरू छन्। निस्शुल्क उपलब्ध हुने विदेशी सामग्रीहरू छन्। थोरै लगानीमा पाइने सामग्री छन्। तिनको डबिङ गर्न सकिन्छ। अनुवाद गर्न सकिन्छ। तीनै तहका सरकार तथा क्याम्पसहरूले ती सामग्री भण्डारण गर्नुपर्छ। वितरण गर्नुपर्छ।

छ. विद्यार्थी तथा अभिभावकको पुनर्अभिमुखीकरण गर्नुपर्छ। तिनैका नेतृत्वलाई यो कामको जिम्मा लगाउनुपर्छ। तिनलाई भन्नुपर्छ— अब विद्यार्थीले घरैमा पढ्छ। मुडलमा। अन्य सफ्टवेयरमा। अभ्यास पुस्तिकामा। सञ्चारका उपलब्ध साधनमा। स्कुल, कलेजमा त छलफल गर्न जान्छ। स्कुल, कलेज बन्द हुँदा जुममा छलफल गर्छ। मीटमा छलफल गर्छ। सञ्चारको जुन साधन छ, त्यसैमा छलफल गर्छ।


ज. व्यवस्थापन समितिलाई भन्नुपर्छ— तिमीले शिक्षक तथा प्राध्यापक खोज्ने दिन गए। शिक्षक तथा प्राध्यापक सञ्चारका साधनमा छन्। नभए हुन्छन्। नभए तपाईंहरूले त्यस्ता शिक्षक वा प्रधानाध्यापकको रोस्टर बनाउनुपर्छ। एक दिन एउटा देशको शिक्षकले पढाउने। परदेशिएको नेपालीले। सम्बन्धित देशकोले। त्यो देशको शिक्षकले। प्राध्यापकले।

झ. गैससरअगैससलाई भन्नुपर्छ— तिम्रो लगानी, हाम्रो योजना। तिम्रा योजना थन्क्याऊ। एजेन्डा थन्क्याऊ। अन्यथा हाम्रो बस्तीमा नआऊ।

ञ. संघीय सरकारलाई सचेत बनाउनुपर्छ, तिम्रो हुटिट्याउँको बुद्धि काम छैन। संविधान पढ। स्थानीय सरकारलाई विश्वास गर। प्रदेश सरकार तथा क्याम्पसलाई विश्वास गर। तिनैलाई परिचालन गर। तिनको तागत छैन भने तागत भर। अहिले बेला भएको छैन भन्ने स्यालको हुइयाँ छोड। पराशर ऋषिले तर्दै गरेको डुंगामा वातावरण बनाए। मत्स्यगन्धाबाट महर्षि व्यास जन्माए। वातावरण हुने हैन। बनाउने हो। सक्छौ वातावरण बनाऊ भन्ने चिन्तन बोक। अन्यथा ससम्मान आआफ्नो पेसा छोड।

ट. राजनीतिक दलका नेताहरूलाई भन्नुपर्छ— तिमीहरू आआफ्ना अरिंगाल वा छौंडाहरूलाई आदेश देऊ कि हिजो अरूलाई टोक्यौं, अब आफूले आफंैलाई टोक। अरूको दुस्ख थाहा हुन्छ। अर्थात् आफ्नै रगतमा बाँच्न सिक।

ठ. परीक्षा सञ्चालकहरूलाई भन्नुपर्छ— जबर्जस्ती करणी गर्नेरगराउने परीक्षा प्रणाली बन्द गर। चोर्न चोराउन सिपालुहरूको ठूलो जमात शिक्षा क्षेत्रमा प्रवेश गरिसक्यो। त्यो जमातले पढाउँदैन। पढाए पनि उसको इतिहास जानेको विद्यार्थीले उसलाई पत्याउँदैन। त्यसैले अब खोज्ने प्रश्न बनाऊ। सोध्ने प्रश्न बनाऊ। सारेर लेख्नेहरूलाई कोट गर्ने तथा प्याराफेज गर्ने तरिका सिकाऊ। सीए पढ्नेको जस्तो। विद्यावारिधि गर्नेहरूको जस्तो। त्यसरी लेख्ने तथा लेखाउने उपाय सिकाऊ। स्कुल तहमा, क्याम्पस तहमा। गुगल निर्माताको उपाय सिकाऊ। तथ्य खोज। विश्लेषण गर। विचार देऊ। कार्यान्वयनको ढाँचा देऊ। अहिलेको जाँच लिने पुरानो बुद्धि भत्काऊ। त्यसो गरेमा शैक्षिक क्यालेन्डर बिग्रँदैन। विद्यार्थीलाई समस्या हुँदैन। उल्टै पढाइ व्यावहारिक, जनमुखी, वैज्ञानिक तथा उत्पादनसँग जोडिन सक्छ। स्वरोजगारको समूह बन्न सक्छ। उद्यमीहरूको समूह बन्न सक्छ।

निचोड

कोरोनाले प्रविधिमा शिक्षा लाने अवसर दियो। सन् १९७० को दशकमा पश्चिमी देशहरूमा यो चिन्तन बनेको थियो। ५० वर्षपछि हामी कार्यान्वयनको तहमा आइपुग्यौं। यो पुगाइले विद्यालयको स्वरूप फेर्न लाग्यो। थोरै तर विज्ञ शिक्षक वा प्राध्यापकले पुग्ने दिन आए। साना स्कुल तथा कलेज भए पुग्ने दिन आए। संवाद स्थलका रूपमा चल्ने। देखाउन चाहिने। अर्थात् अहिले वैकल्पिक ढंगले चलाउन खोजिएको शिक्षा भोलि परिपूरक शिक्षा प्रणाली बन्छ। भोलि परिपूरक हुने शिक्षा प्रणाली पर्सि मूलधारको शैक्षिक प्रणाली बन्छ। अहिलेको मूलधारको शैक्षिक प्रणाली भोलिको शास्त्रीय प्रणाली बन्छ।

अहिलेको केन्द्रीय सोच र सरकार भोलि विकेन्द्रित सोच र सरकारमा रूपान्तरित हुन्छ। प्रश्न हो— विगतमा टेकेर अघि बढ्ने कि शास्त्रीय बन्दै फोसिलाइज्ड हुने ? समयअनुसार चल्ने कि समयलाई चलाउनेरु निर्णायकहरूको मर्जी।साभारःईकान्तिपुर

तपाईको प्रतिक्रिया