षडानन्द नगरपालिकामा ६ गतेवाट राहत वितरण, ३ क्वारेन्टाईन थप्ने र सिमा नाका ठप्प पार्ने

दिङ्ला,४ बैशाख- भोजपुरको षडानन्द नगरपालिकाले आँउदो शनिवार ( बैशाख ६ गते ) वाट राहत वितरण गर्ने भएको छ । नगरपालिकाले थप ३ वटा क्वारेन्टाईन व्यवस्थापन र सिमा नाका ठप्प पार्ने बुधवार वसेको विपद व्यवस्थापन समितिको वैठकले निर्णय गरेको नगरपालिकाका उपमेयर मेरिका राईले जानकारी दिईन ।

कोभिड १९ का कारण मुलुकमा शरकारले लकडाउन गरे सँगै आय आर्जन गुम्न गई दैनिक जिवन यापनमा ज्याला मजुदरी गरेर जिवन यापन गर्ने परिवारलाई नगरपालिकाले २ जनाको परिवारलाई १५केजी चामल, १ लिटर तेल र १ केजी नुन दिने भएको छ भने दुई भन्दा वढि जनाको परिवारलाई ३० केजी चामल, १ लिटर तेल र १ केजी नुन वितरण गरिने जनाएको छ । नगरपालिकाका ११ सय ८६ परिवारले राहत पाउने छन । 

नगरपालिकाले कोरोना भाईरसको संक्रमण फैलिन नदिनको लागि थप क्वारेन्टाईनको व्यवस्था गरेर सिमा नाका ठप्प पार्ने भएको छ । वडा नम्वर १,२ र ३ को लागि वडा नम्वर २ मा, १०,११ र १२ को लागि वडा नम्वर ११ मा र १३ र १४ को लागि १४ नम्वर वडामा क्वारेन्टाईनको व्यवस्था गर्ने निर्णय गरेको हो ।

बैठकले अति आवश्यक वाहेक नगरका सम्पूर्ण नाका पूर्णरुपमा ठप्प पार्ने निर्णय गरेको छ । वाहिरवाट आउने पैदल यात्री तथा ईमरजेन्सीमा आउने यात्रीलाई अनिवार्य रुपमा नगरपालिकाको स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षण गरेर मात्र नगरमा प्रवेश दिई क्वारेन्टाईनमा राख्ने निर्णय पनि गरेको छ ।

नगरमा सञ्चालनमा रहेका आयोजनाहरुको लागि कार्यरत कामदार वाहेक कामदार थप्न नपाउने र कम्पनीकै सवारी साधनवाट भोजपुर सदरमुकाम र संखुवासभावाट निर्माण सामाग्री ल्याउन पाउने व्यवस्था गरिएको छ ।