- खबर ट्वीट सहकर्मी

काठमाडौँ – कोरोना भाइरसको प्रकोपलाई फैलन नदिन लागि सरकारले नेपालमा लकडाउन घोषणा गरेको झन्डै महिना दिन बित्न लागेको छ । यसबीचमा मजदुरहरू पैदल हिँडेर सयौँ किलोमिटर दुरी पार गर्दै आफ्नो थातथलो फर्किएका दृश्य प्रशस्तै देखिए । पछिल्लो समय त्यस्ता मजदुरलाई हिँड्न समेत सरकारले रोक लगाएपछि ती मजदुरको पीडा दोब्बर भएको छ ।

उनीहरू न त हिँडेर आफ्नो गाउँ जान सक्छन्, न त काठमाडौँ वा सहरमा बस्नलाई उनीहरूसँग खानेकुरा नै छ । यही सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातीले त्यस्ता मजदुरलाई सरकारले कि खान दिनुपर्ने, कि जान दिनुपर्ने माग गरेका छन् ।

‘हजारौँ जनता भोकभोकै हिँडेर घर फर्कंदै छन् । उनीहरूलाई सरकारले कि खान दिनुपर्यो, कि जान दिनुपर्यो’, कामना न्यूजसँग कुरा गर्दै किरातीले भने, ‘सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रका जनतालाई घर फर्काउने जिम्मेवारी दिएको खण्डमा स्थानीय सरकारसँग समन्वय गरेर स्वास्थ्यसँग सम्बन्धित आधारभूत अनुशासन पालनागरी घर पुर्याउने जिम्मेवारी हामी सहजै पूरा गर्न सक्छौँ ।’

किरातीले सांसदहरूका लागि लकडाउन पीडासहितको विदा जस्तै भएको बताए । ‘हामी सांसदहरू पीडासहितको छुट्टीमा छौँ । समस्यामा परेका जनता रुँदै फोन गर्छन्, सुनिदिने कोही छैन,’ किरातीले टिप्पणी गरे, ‘अपवादबाहेक तीन तहकै सरकार आ–आफ्नै तालमा छन् । उनीहरू राहतको नाममा दाल चामलको राजनीतिमा लागेका छन् । संसद स्थगित छ, जनताको कुरा उठाउने ठाउँ कहीँ छैन ।’

सरकारको गतिविधिप्रति पनि किरातीले कडा टिप्पणी गरेका छन् । किरातीले भने, ‘लोकतन्त्रका लागि वर्षौं त्याग र संघर्ष गरेका नेताहरू यतिबेला सरकारमा छन् । तर मित्र तथा नागरिकले सुझाव दियो भने उनीहरू चित्त दुखाउँछन्, त्यसपछि काम होइन जवाफ दिन थाल्छन् । यो शासकीय क्षमताको गम्भीर अयोग्यता प्रदर्शन भइरहेको समय हो ।’

‘हुन त भनाइ छ– बुद्धि भएको मान्छेलाई सल्लाह चाहिँदैन, बुद्धि नभएको मान्छेले सल्लाह नै लिँदैन ।’ किरातीले सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘हाम्रो सरकार कुन कोटीको हो रु पत्ता लाग्न बाँकी छ ।’

माथिदेखि तलसम्म रहेका सरकारी निकाय मनपरीतन्त्रमा लागेकोमा किराती आक्रोशित बने । उनले भने, ‘सरकारी निकाय भनाउँदाहरूले आम सहमति र एकता निर्माण गरी कोरोना विपदविरुद्ध लड्नका लागि सामुहिक बल विवेक प्रयोग गर्ने महसुस कहिल्यै गरेनन् ।’

किरातीले विदेशी भूमिमा रहेका नागरिकलाई तुरुन्तै स्वदेश फिर्ता ल्याउनुपर्नेमा जोड दिए । ‘विश्वव्यापी महामारीबाट प्रभावित र प्रताडित भएर विदेशी भूमिमा रहेका लाखौँ नेपाली स्वदेश फर्किए भने कहाँ राख्ने रु के खुवाउने रु त्यो पछिको विषय भयो । तर आजसम्म हामी उनीहरूको पसिनाबाट आएको रेमिट्यान्सले बाँच्यौँ वा चैन गर्यौ‌ । उनीहरूलाई व्यवस्थित रूपले फर्काउने कुरामा सरकारले तत्काल पहलकद्मी लिनुपर्यो ।’

किरातीले सीमा नाकामा अलपत्र परेका नागरिकको समस्यामा सरकारले न्यूनतम् मानवअधिकार र विश्व स्वास्थ्य संगठनको आधारभूत मान्यतासमेत लत्याएको बताए । उनले भने, ‘सीमामा आएर भोक–तिर्खाले अलपत्र परेका नागरिकलाई न्यूनतम् मानवअधिकार र विश्व स्वास्थ्य संगठनको आधारभूत मान्यतालाई पालना गरी तत्काल स्वदेश ल्याउनुपर्छ ।’

तपाईको प्रतिक्रिया