काठमाडौँ — काम गरिरहेको ठाउँका ठेकेदारले बेवास्ता गरेपछि र स्थानीय तहले वितरण गर्ने राहतमा पनि पहुँच नपुगेपछि भोकै बस्न नसकेर घर हिँडेका मजदुरहरू बाटैमा अलपत्र परिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर पनि यात्रा गर्न नदिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिमा सदस्‍य रहेका मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखसहित शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन अझै कडा पार्न निर्देशन दिएका हुन् । ‘लकडाउन भनेको लकडाउन नै हो, अत्यावश्यक कामबाहेकका कसैलाई पनि बाटोमा निस्किन नदिनू,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘खान नपाएका मजदुरहरूलाई बसेकै ठाउँमा खाद्यान्नको व्यवस्था मिलाइदिनू ।’

यस्तै बैठकमा मजदुरहरूको सही तथ्यांक निकालेर उनीहरूलाई काममा लगाउने विषय उठे पनि थप छलफल भएन । प्रधानमन्त्री ओलीसँग छलफलमा जानुअघि कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । बैठकमा घर हिँडेका मजदुरहरूको बाटोमै बिचल्ली भएकाले उनीहरूलाई जसरी भए पनि घर पुर्‍याउने व्यवस्था गर्नुपर्ने र त्यसको पहलकदमी स्थानीय सरकारहरूले लिनुपर्ने निष्कर्ष निस्किएको थियो ।

मजदुरलाई या त भरपेट खाना दिनुपर्ने या घर जान दिनुपर्ने दुई विकल्प लिएर प्रधानमन्त्रीसमक्ष समितिका पदाधिकारी पुगेका थिए । तर प्रधानमन्त्रीले लकडाउनको मर्म र लक्ष्य बुझ्नुपर्ने बताउँदै जो जहाँ छ, त्यहीं राख्न निर्देशन दिए । ‘त्यसको समन्वय गृह मन्त्रालयबाट हुन्छ तर हिँडेर जान दिन हुँदैन,’ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘गाडीमा चढाएर पठाउन पनि साध्य लाग्दैन । त्यसैले जो जहाँ पुगेको छ, रोकेर राख्नुस्, खान दिनुस् ।’

मन्त्रीहरूको काम गराइमा समेत प्रधानमन्त्री ओलीले चित्त बुझाएनन् । ‘मजदुरहरूको त्यत्रो इस्यु आइरहेको छ, कोहीले ५ हजार मजदुर छन् भन्नुहुुन्छ, कोहीले ७ हजार,’ ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘पहिले मजदुरको यकिन तथ्यांक ल्याउनुस्, कसले कहाँ खान पाएको छैन, विवरण मगाउनुस् । निर्माण कम्पनीमा काममा लगाउनुस् ।’ उनले यी सबै काम धेरै मन्त्रालयहरूको समन्वयमा हुने भए तापनि मन्त्रीहरू अलमल परेकामा आलोचना गरेका थिए । उनले मन्त्रीहरूले गरेका काममा राम्रो समन्वय नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए । अरू दिनजस्तै प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कुरा सुन्ने भन्दा पनि आफ्ना कुरा बढी सुनाएर उनीहरूका काममा असन्तुष्टि जनाए ।

तपाईको प्रतिक्रिया