काठमाडौँ- शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुलुकको अवस्था सामान्य भएको तीन सातापछि मात्रै रोकिएको परीक्षा हुने बताएका छन्।

‘काठमाडौ र बाहिरको अवस्था फरक छ । विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका छन् त्यसैले स्थिति सामान्य भएको तेस्रो साताबाट मात्रै परीक्षा गराउछौ,’ शिक्षा पत्रकार समूहले गरेको भिडियो कन्फ्रेन्समा मन्त्री पोखरेलले भने, ‘१२ परीक्षाको परीक्षा गर्नै पर्ने हुन्छ । १० र ११ विकल्प पनि आएको छ । यो पनि सकेसम्म परीक्षा गराउने पक्षमा छु ।’

आइतबार हुने मन्त्रिपरिषद्को बैठकको निर्णयपछि मन्त्रालयले कार्ययोजना बनाउने उनले बताए । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको छ । यसअनुसार अझै एक साता लकडाउनको प्रस्तावसमेत गरिएको छ ।

मुलुकको अवस्था सामान्य हुन अझै समय लाग्ने भएकाले परीक्षा कहिले हुन्छ ? भन्ने अन्यौल छ । कक्षा १० देखि माथिल्लो तहको करिब १८ लाख विद्यार्थीको परीक्षा कोरोनाका कारण रोकिएको छ ।

तपाईको प्रतिक्रिया