नेपाली युवा दिवेश पोख्रेल अमेरिकन आइडलको शीर्ष २० मा, भोटको अपिल ( यसरी गर्न सकिन्छ भोटिङ)

काठमाडौँ — अमेरिकन आइडलको शीर्ष-२० मा पुग्न सफल नेपाली गायक दिवेश पोख्रेल(अर्थर गन)ले भोटको अपिल गरेका छन् । आइतबारको प्रस्तुतिसँगै विश्वप्रख्यात गायन रियालिटी सोमा भोटिङ सुरु हुनेछ ।

एलिमिनेसन राउन्डबाट अघि बढ्न आफूलाई भोटको आवश्यकता रहेको दिवेशले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन् । भोटले नै २० जना प्रतिस्पर्धीमा शीर्ष-१० मा पुर्‍याउने छ ।

अहिलेसम्म मेरो यो सांगेतिक यात्रामा साथ दिनु भएको लागि सबैजनलाई धेरै-धेरै धन्यवाद भन्न चाहन्छु । यो आइतबार हाम्रो अमेरिकन आइडलको शीर्ष-२० प्रस्तुति प्रिमियर हुन गइरहेको छ । यसमा अगाडि बढ्न मलाई हजुरहरुको भोटको आवश्यकता पर्नेछ, दिवेशले भने, हजुरहरुले तीनवटा माध्यमबाट भोट गर्न सक्नुहुनेछ । एउटा टेक्स्टबाट, वेबसाइट र अमेरिकन आइडलको एपबाट एकजनाले ३० पटकसम्म भोट गर्न मिल्छ । त्यसकारण नबिर्सनु होला ।

आफ्नो प्रस्तुतिले सोका निर्णायक लायोनल रिची, केटी पेरी र लुक ब्रायनको मन जित्न सफल दिवेशले आइडलमा प्रवेश गरेसँगै लाखौं फ्यान कमाएका छन् । कोरोना भाइरसको महामारीका बीच पनि सोले आफ्नो बाँकी प्रस्तुती प्रशारणमा ल्याउने भएको हो । प्रतिस्पर्धीहरु आ-आफ्नो घरबाटै प्रसारणमा जोडिनेछन् ।