काठमाडौँ — किरात जातिले देश विदेशमा धुमधामसँग मनाउँदै आएको उभौली चाड यो पटक सार्वजनिक स्थलमा पूजाआजा र नाच प्रदर्शन नगर्ने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)ले गर्दा किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले घर–घरमा पूजामात्र गरेर मनाउन संस्थागत निर्णय गरेका हुन् ।

‘कोरोना भाइरसको महामारीले संसारै लकडाउनमा छ,’ किरात समन्वय समितिका संयोजक तथा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष रणबीर सुनुवारले भने, ‘त्यसैले गर्दा यो पटक किरात चाड उभौली सार्वजनिक स्थलमा नमनाउने र नाच पनि प्रदर्शन नगर्ने निष्कर्षमा पुगेका छौं । किरातजन्य संस्थाहरूको आ–आफ्नो समुदायलाई त्यसैअनुसार सर्कुलर जारी गर्ने टुंगोमा पुगेका छौं ।’ समन्वय समितिले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका हुन् । उक्त विज्ञप्ति किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज र नेपाल थामी समाजले जारी गरेका हुन् ।

यायोक्खाका महासचिव जनक राईले यसअघि छुट्टै विज्ञप्ति जारी गर्दै यो वर्षको साकेला सांस्कृतिक विधिमात्र पुर्‍याएर चाड मनाउन आह्वान गरेका छन् । ‘यो वर्षको किरात चाड उभौली साकेलालाई कुनै पनि देश वा स्थानमा बृहत कार्यक्रमको रूपमा खुल्ला स्थानमा आयोजना गर्न, गराउन व्यवहारिक नहुने भएकोले,’ विज्ञप्तिमा छ, ‘सांस्कृतिक विधिअनुसार पारिवारिक रूपले घरभित्र मात्र मनाउने र साकेला थानमा पनि परिस्थितिअनुसार सम्बन्धित ठाउँको आधिकारिक सरकारी निकायको समन्वयमा नछौं (पुजारी) लगायत सीमित व्यक्तिको सहभागितामा उभौली पूजा गर्न, गराउन अनुरोध छ ।’

त्यसैगरी चुम्लुङका अध्यक्ष योगराज लिम्बूले कोरोना महामारीका कारण सार्वजनिक स्थलमा पूजाआजा र च्याब्रुङ नाच प्रदर्शन नगर्ने निर्णय गरेको बताए । याक्खा छुम्माका केन्द्रीय अध्यक्ष लिलबहादुर रोगुले विश्वव्यापी महामारीका कारण सामूहिक पूजाआजा नगरिने जानकारी दिएका छन् ।

किराती जातिले हरेक वर्ष अन्नबाली छर्ने बेलामा उभौली चाड मनाउँदछन् । अन्नबाली राम्रो होस् । सुखशान्ति मिलोस् भनेर प्रकृति र पितृको पूजा गरी ढोल, झ्याम्टा बजाएर सामूहित रूपमा नाच प्रदर्शन गर्ने गर्दछन् । अन्नबाली पाकेपछि मंसिरे पूर्णिमा तिथिमा उधौली पूजा गर्दछन् । यो चाडलाई किरात राईले साकेला, लिम्बूले चासोक, याक्खाले चासुवा र सुनुवारले फोलषादर भनेर पुकार्दछन् ।तिथिअनुसार यो पटक वैशाख २५ गतेको उभौंली चाड परेको छ ।

तपाईको प्रतिक्रिया