दिङ्ला– विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस विरुद्ध लड्नको लागि नेपाल कम्युनिष्ट पार्टी षडानन्द नगर कमिटी र योगमाया फाउण्डेसनले षडानन्द नगरपालिकालाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । आज एक षडानन्द नगर परिषरमा एक कार्यक्रमकाविच नगरपालिकाका मेयर विरवल राईलाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।

स्वाथ्य सामाग्रीमा नेपाल कम्युनिष्ट पार्टी षडानन्द नगर कमिटिले प्रदान गरेको १० थान थर्मल गन साथै योगमाया फाउण्डेसनले प्रदान गरेको १२ थान पिपिई सेट, १५० थान मास्क र ५० थान पञ्जा रहेका छन् ।

कार्यक्रममा नेकपा षडानन्द नगर कमिटि ईन्चार्ज मुकन्द राईले नगरपालिकामा कोभिड १९ को जोखिमलाई कम गर्नको निमित्त सामाजिक दुरी कायम गर्दै नगर भित्र रहेका पार्टीका विभिन्न तहका नेता कार्यकर्तावाट संकलन गरिएको रकमवाट सामाग्री खरिद गरिएको स्पष्ट पारे । राईले प्रत्येक वडालाई एक एक वटा र ईलाका प्रहरी कार्यालय दिलालाई एकवटा गरि १५ वटा थर्मल गन प्रदान गर्ने योजना भएता पनि हाल उपलव्ध १० वटा गरिएको र केहि दिनमा ५ वटा प्रदान गरिने वताए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युन्ष्टि पार्टीका प्रदेश कमिटी सदस्य सुरेन्द्र उदासले षडानन्द नगरपालिकाले कोरोना विरुद्ध गरिरहेका प्रयासहरु चित्तबुझ्दो नभएको , क्वारेन्टाईनहरु मापदण्ड अनुसार नभएको साथै सुरक्षा कर्मी र स्वास्थ्य कर्मीले जोखिममा काम गरिरहनु परेकोमा ध्यानाकर्षण गराए। नेकपाको यो सहयोग सुरुवात भएको र अझै निरन्तर सहयोग भईरहने समेत नेता उदासले प्रतिवद्धता जनाए ।

नगर कमिटीले १५ थान थर्मलगन प्रदान गर्ने भन्ने निर्णय भए पनि समाग्री अभावका कारण अहिले सबै सामन नआएको कारण १० थान थर्मलगन प्रदान गरिएको र अरु सामन आएपछि नगरपालिकालाई छिट्टै हस्तान्तरण गरिने नगर कमिटीका अध्यक्ष सम्बर बहादुर राईले बताए ।

कोरोना भाईरसको समस्या नयाँ भएर यसको व्यवस्थापनमा केहि कमिकमजोरि भएको नगर प्रमुख विरवल राईले स्विकार गरे । एउटा पार्टीले मात्रै हैन सबै राजनितिक दल सामाजीक संघसस्थाहरुले पनि सहयोग गरेर यो विषम परिस्थितिको अन्त्य गर्न नगरपालिकाका मेयर विरबल राईले अपिल गरे । संघ तथा प्रदेश सरकारवाट केहि सहयोग प्राप्त नभएको अवस्थामा सम्पूर्ण खर्च नगरपालिकाका योजना कटौति गरेर गर्नुपरेको राईले स्पष्ट पारे ।

योगमाया फाउण्डेसन र नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर कमिटीलाई नगरपालिकाको तर्फबाट नगरप्रमुख विरबल राईले धन्यवाद दिदैं अन्य राजनीतिक दल र संघ संस्थालाई पनि यो सहयोग प्रेरणाको स्रोत भएको वताए । यता मेयर विरबल राई भने नेपाल कम्युनिष्ट पार्टी र योगमाया फाउण्डेसनले गरेको उल्लेखनीय सहयोग भएको भन्दै खुशी व्यक्त गरे। साथै नगरपालिका क्षेत्रभित्र कार्यरत स्वास्थ्य कर्मी, सुरक्षा कर्मी साथै जनप्रतिनिधीहरुलाई समेत मेयरले धन्यवाद प्रदान गरे ।

नेकपा नगर कमिटिले उपलव्ध गराएको सामाग्री हस्तान्तरणमा केहिवेर विवाद भएको थियो । नगर प्रमुख राईले पार्टीको लोगो भएको थर्मल गन लिँदा गलत सन्देश जाने भन्दै नगर प्रमुख राईले नलिने भनेपछि विवाद भएको हो । अन्यमा लोगो नदेखाई हस्तान्तरण गर्ने सहमति भएपछि नगर कमिटीका अध्यक्ष सम्बर बहादुर राईले लोगो नदेखाई सहयोग समाग्री हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया