साइप्रस- साइप्रस राजधानी निकोसिया नजिकै एक नेपालीको हत्या भएको छ। एउटै अपार्टमेन्टमा बस्ने साथीहरुबीच विवाद हुँदा चितवनका विवेक आमगाईंले ज्यान गुमाएको साइप्रसस्थित नेपाली महावाणिज्य दूतावासले पुष्टि गरेको हो।

२१ वर्षीय उनी त्यहाँ अध्ययन गर्दै आएका थिए। साइप्रसमा करिब ४ हजार नेपाली विद्यार्थी छन्। गैरआवासीय नेपाली संघ साइप्रसका अनुसार मृतक विवेकको नेपला ठेगाना चितवन, रत्ननगर नगरपालिका—१२ जमुनापुर हो। स्थानीय मिडिया तथा साइप्रसमा रहेका नेपालीहरुले आक्रमणकारी सुवास गिरी नामक युवक भएको उल्लेख गरेका छन्। उनको नेपाल ठेगाना सिन्धुपाल्चोक हो। छुरा प्रहार पछि सुवास आफैँ प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेका थिए।

स्थानीय सञ्चार माध्यमका अनुसार अपार्टमेन्टमा बस्ने चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। ‘एउटै अपार्टमेन्टमा ५ जना नेपाली विद्यार्थी बस्दै आएका थिए। मंगलबार साँझ रक्सी पिएपछि झगडा हुँदा एक जनाको मृत्यु भएको हो। त्यहाँ रहेका नेपालीका अनुसार भन्सा र सरसफाईको विषयमा विवाद बढ्दै जाँदा घटना भएको हो।

गैरआवासीय नेपाली संघ साइप्रसले पनि नेपालीद्वारा नेपालीको हत्या भएको पुष्टि गरेको छ। यो मुद्दा आज अदालत पेश हुँदै गरेको संघले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया