विराटनगर- विराटनगरको कोरोना उपचार केन्द्रबाट शुक्रबार एकैपटक ८ जना डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केमा कोरोना संक्रमण पुष्टि भई वैशाख ८, ९ र १० गते ल्याइएका मध्ये एक महिलासहित ८ जना डिस्चार्ज भएका हुन् ।

लगातार तीन पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

शुक्रबार डिस्चार्ज हुनेमा एक भारतीय नागरिक पनि छन् । अन्य दुईजना विराटनगर १७ का र एक महिलासहित बाँकी ५ जना उदयपुर भुल्केका स्थानीय हुन् ।

उपचार केन्द्रमा रहेका ६ जना गत बुधबार कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए । ती सब भारतीय नागरिक थिए । हाल सम्म ७ भारतीय र ७ नेपाली नागरिक डिस्चार्ज भएका हुन् ।

शुक्रबार डिस्चार्ज हुनेहरुमा भारतीय नागरिक २४ वर्षीय मो. आदिम, विराटनगर १७ का ७२ वर्षीय आइमुन मियाँ र ६० वर्षीय इजरायल मिया, उदयपुर भुल्केका २० वर्षका अजाद आलम, १८ वर्षका माँ इमरान अहमद, १८ वर्षकै परबेज आलम, ४१ वर्षका मोख्तार मियाँ र ५५ वर्षका रौसन खातुन रहेका छन् ।

तपाईको प्रतिक्रिया