काठमाडौं – खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर ९३ हजार नाघेको छ । ती देशमा रहेका नेपाली दूतावासका अनुसार खाडी र मेलेसियामा गरी ४२३ जना नेपाली नागरिकमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

संक्रमितमध्ये ४०४ जनाको अस्पतालमा उपचार भइरहेको छ । १६ जना निको भएर काममा फिरेका छन् भने यूएईमा कोरोनाका कारण तीन जनाको ज्यान गएको छ ।सवै भन्दा वढि नेपाली बहराईनमा संक्रमित भएका छन् ।

बहराइनमा २४५, यूएईमा १३, साउदीमा ४६, कुवेतमा ८४, कतारमा १५, मलेसियामा २० जना गरी जम्मा ४२३ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो । जसमध्ये साउदीमा ११, यूएईमा दुई र मलेसियामा तीन गरी १६ जना निको भएर काममा फर्किएका छन् ।

अहिलेसम्म खाडीका देश र मलेसियामा ९३ हजार ८९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै २५ हजार ८१८ जना उपचार पछि निको भएर घर फर्केका छन् भने ६७ हजार ५५६ जनाको अस्पतालमा उपचार भइरहेको छ । कोरोनाका कारण ५९५ जनाले ज्यान गुमाएका छन् ।

खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले त्यहाँको सरकारले पनि सुरक्षा सतर्कता बढाएको छ । विश्वका दुई सय १२ देशका ४० लाख ३० हजार ०५३ जनामा सङ्क्रमण फैलिसकेको छ । दुई लाख ७६ हजार ४९८ जनाको ज्यान गएको छ भने १३ लाख ९४ हजार ९६५ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया