काठमाण्डौ – नेपालमा आज एकैदिन २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अहिले बेलुकी कपिलवस्तुमा थप ६ जना, रुपन्देहीमा ६ र बर्दीयामा एक जना गरी १३ जनामा कोरोना पुष्टि भएसँगै एकैदिन २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बिहानमात्रै कपिलवस्तुमा १० तथा सप्तरीमा एक जनामा कोरोना पुष्टि भएको थियो । यसअघि पर्साका १७ जनामा एकैदिन कोरोना पुष्टि भएपछि आज धेरै सङ्क्रमित भेटिएका हुन् ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । साथै रुपन्देही, समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष र बर्दिया राजापुरकी ११ वर्षकी बालिकामा कोरोना पुष्टि भएको हो ।

अहिलेसम्म कोरोना पुष्टि भएकामध्ये ३३ जना निको भएर घर फर्किएका छन् । १२ हजार सात सय एक जना क्वरेण्टीनमा रहेको र एक सय ५३ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया