काठमाडौं – खाडीका देश र मलेसिया रहेका ९ हजार वढि नेपाली कोरोना संक्रमित भएका छन् । नेपाली दूतावास र गैरआवसीय नेपाली संघ (एनआरएनए) का अनुसार यी देशमा ९ हजार २ सय ५७ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

संक्रमित मध्ये ५३ जना निको भएर काममा फिरेका छन् भने यूएईमा कोरोनाका कारण १८, साउदीमा ७ जना र कतारमा १ गरी २६ जनाको ज्यान गएको छ ।

नेपाली दूतावास र गैरआवसीय नेपाली संघ एनआरएनएका अनुसार अहिलेसम्म साउदीमा १३ सय ६४, बहराइनमा ३३१, यूएईमा ५ सय , कुवेतमा ८४, कतारमा ६ हजार ९ सय ११ जना , मलेसियामा ६७ जना गरी जम्मा ९ हजार २ सय ५७ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो ।

जसमध्ये साउदीमा ३८, यूएईमा दुई र मलेसियामा १३ गरी ५३ जना निको भएर काममा फर्किएका छन् । तर साउदी, यूएई र कतारमा उल्लेख्य कोरोना सङ्क्रमित निको भएको त्यहाँको सरकारको भनाइ छ । यकिन तथ्याँक भने खुलाइएको छैन । माथि उल्लेखित तथ्याँक निको भएर दूतावासको जानकारीमा आएका नेपालीको हो ।

यस्तै यी देशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख २१ हजार २८ पुगेको छ । जसमध्ये १ लाख १८ हजार ३१८ जना निको भइसकेका छन् भने १ लाख १ हजार ५९२ जनाको अस्पतालमा उपचार भइरहेको छ । यस्तै कोरोनाका कारण १ हजार ११८ जनाको ज्यान गइसकेको छ ।

विश्वका दुई सय १३ देशका ६० लाख ३१ हजार २३ जनामा सङ्क्रमण फैलिसकेको छ । तीन लाख ६६ हजार ८१२ जनाको ज्यान गएको छ भने २६ लाख ५९ हजार २७० जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया