भोजपुर, २० जेठ- भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकालाई सिल गरिएको छ । मंगलबार ३३ जनाको आरडिटि परीक्षण गर्दा एकैदिन स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ ।

आरडिटि पोजेटिभ आउनेमा ६ जना स्वास्थ्यकर्मी सहित जनप्रतिनिधि र स्थानीय रहेका छन् ।उनीहरु विभिन्न वडाका स्वास्थ्य इन्चार्ज र स्वास्थ्यकर्मी हुन् । स्वास्थ्यकर्मीहरुको नै आरडिटि पोजेटिभ देखिएपछि कोरोनाको संक्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै गाउँपालिका नै सिल गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने,‘ आरडिटि परीक्षण गर्दा ६ जना स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप सतर्कता अपनाउन गाउँपालिका नै सिल गर्ने निर्णय गरेका छौ ।

आरडिटि रिपोर्ट पोजेभिट आएका सबै जनालाई वडा नं – १ श्यामशिलामा रहेको राधाकृष्ण माध्यमिक विद्यालयमा आइसोलेसन वार्ड निर्माण गरेर राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले जानकारी दिए । उनीहरुको बुधबार स्वाब संकलन गरेर परीक्षणको लागि पठाउने तयारी रहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया