भोजपुर- नेपाल बिद्युत प्राधिकरणको प्रमुखको रुपमा कुलमान घिसिंग आएपछि प्राधिकरणको चुस्त दुरुस्त व्यवस्थापनका कारण प्राधिकरण करौडौं नाफामा गएको समाचारहरु आईरहेका छन् । यता भोजपुरको षडानन्द नगरपालिकाका दुर्गम वडा नम्वर १ नेपालेडाँडा र वडा नम्वर २ कुदाककाउलेका गाउँबस्तीमा भने ८ वर्षअघि विद्युत् विस्तारको काम छोडेर ठेकेदार भागेपछि गाउँमा अझै पनि कुपी र महंगो सोलार बत्तिको सहारा लिन गाँउलेहरु वाध्य छन् ।

अधिकांश गाँउवासीले बिजुली नभएपछि वैकल्पिक स्रोतको रुपमा सोलार जडान गरेर कामचलाएकाछन्। ७५ प्रतिशत बढि घरधुरीले सोलार बत्ती बालेका छन्। अन्य भने अझै पनि सोलारटुकी या त कुपी बाल्छन्। नेपालेडाँडा र कुदाककाउलेका करिब १३ सय घरधुरी अँध्यारोमै रात गुजार्छन्। ‘अब त बिजुली आउने आस मर्यो, सोलार जोडेर काम चलाईरहेका छौं’ नेपालेडाँडाका स्थानीय ढाकमान राईले भने ।’

केन्द्रीय योजनाअन्तर्गत वडा १, नेपालेडाँडा र २ कुदाककाउलेमा केन्द्रीय प्रशारणको लाइन विस्तार गर्ने ठेक्का लिएका ठेकदार नै भागेपछि विद्युत्तीकरण अलपत्र भएको थियो। ०६८ सालमा संखुवासभाको तुम्लिङटार हुँदै नगरपालिकाको केन्द्र दिङ्ला ल्याइएको केन्द्रीय प्रशारणको लाईन वडानम्वर ५ चिउरीवोटे हुँदै वडा नं १ र २ मा पुर्याउने योजना थियो। ठेकेदार किशोर शेर्पा बीचैमा काम छाडेर सम्पर्कविहीन भएपछि विद्युत् विस्तार क्रम अड्किएको हो।

ठेकदारको लापारबाहीले २ वटै वडाबासीलाई विजुलीबाट वञ्चित हुनुपरेको छ। बिजुली बत्ती बाल्ने सपनामै सिमित भएको अर्का स्थानीय सौगात गौतमले सुनाए। ‘पोल गाडेको ८ वर्ष भयो, अझै गाँउले कुपी बालेर रात कटाउनुपरेको छ,’ उनले भने, ‘स्थानीय सरकार आएपछि बिजुली बल्ला भनेर पनि सोच्यौं तर बत्ती आएन। यता षडानन्द नगरपालिका १, नेपालेडाँडाका वडाध्यक्ष रामेश्वर भण्डारी विजुली टाँग्ने टेन्डर पारेका ठेकेदार शेर्पाले काम त गरेनन्, उल्टै आफूसँग ढुवानी खर्च भन्दै २ लाख पैसा लिएर सम्पर्कविहीन बनेको बताउँछन् ।

०६८ साल फागुनमा ठेक्कामार्फत विद्युतीकरणको काम थालिएको थियो। बिजुलीको पोल मात्र नभइ ठेकेदारले ट्र्याक्टर ढुवानी खर्चसमेत नबुझाएको खुलेको छ। पटक-पटक सम्पर्क गर्दा सम्पर्कमा नआएको वडा नम्वर २ कुदाककाउलेका वडाध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए। ‘काम छाडेर भागेका ठेकेदार शेर्पालाई पटक-पटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन्, उनको अहिले त झन अत्तोपत्तो नै छैन’।

केन्द्रीय प्रशारणको बिजुलीबाट नेपालेडाँडाका ७ सय ८३ र कुदाककाउलेका करिब ५ सय घरधुरी लाभान्वित छन्। तर, व्यवस्थित विस्तारका काम अगाडी नसर्दा गाउँलेको बत्ती बाल्ने आशा अधुरै छ।

तपाईको प्रतिक्रिया