दिंला- भोजपुरका पूर्व सांसद नरेन्द्र बस्नेतले प्रेस विज्ञप्ति मार्फत सर्वसाधारणलाई समसामयिक विषयमा सचेत रहन आग्रह गरेका छन् । विहिवार एक कार्यक्रमको आयोजना गरि प्रेस विज्ञप्ति प्रस्तुत गर्दै बस्नेतले समसामयिक विषयहरु कोरोना भाईरस, सिमा सुरक्षा, एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) र रुकुम घटनाको वारेमा सचेतना गराएका हुन् ।

पूर्व सांसद बस्नेतले ६ पृष्ठ लामो प्रेस विज्ञप्तिलाई ४ वटा बुँदामा प्रस्तुत गर्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका हुन् । बस्नेतले कोरोना भाईरसका कारण सरकारले लकडाउन गरेपछि सर्वसाधारणले ३ महिनादेखि वन्दी जिवन विताईरहनु परेको अवस्थामा यसले नकारात्मक अवस्थाको सिर्जना गरेको उल्लेख गरेकाछन् । उनले लकडाउन मात्र यसको विकल्प नभएकोले स्थानिय तहहरुमा स्वास्थ्य जाँचका औजार र जनशक्ति पुर्याएर बन्दि जिवनवाट जनतालाई मुक्त वनाउन सरकारलाई आग्रह गरेकाछन् ।

पूर्व सांसद वस्नेतले विज्ञप्तिमा भारत सँग ५० ठाँउ वढि स्थानमा सिमा विवाद भएको, कालापानी क्षेत्रमा भारत र चिनका सेनाको क्याम्प रहेको, भारतले नेपालको भूभागबाट चीनको मानसरोवर जाने वाटो खनेको जस्ता कदमप्रति विरोध जनाउदै सवै नेपालीहरु एकजुट भएर राष्टिय अखण्डताको लागि लडनु पर्ने र सरकारले पनि भारत र चिन सँग सिमाको वैज्ञानिक सिमांकनको लागि पहल गर्नु पर्ने अपिल गरेकाछन् ।

बस्नेतले विज्ञप्तिमा बहुचर्चित एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) को चर्को विरोध गरेका छन् । उनले एमसीसीले नेपालको न्याय व्यवस्था, कानुन, संविधान मात्र नभएर सार्वभौमिकता र स्वतन्त्रतामा समेत गम्भीर असर पुर्याउने विचार अघि सारेकाछन् । प्रधानमन्त्री ओली, पुर्व प्रधानमन्त्री देउवा लगायत केहि प्रतिपक्षि दलहरु पनि एमसीसीको पक्षमा रहेकोले यो पास हुने सम्भावना धेरै रहेको हुँदा आम नेपालीले जागरुक भएर त्यसको प्रतिरोध गर्नुपर्ने वताएकाछन् ।

पूर्व सांसद बस्नेतले रुकुम घट्नाको घोर भत्र्सना गरेका छन् । जातीय विभेदको कारणले भएको यो घट्नाले देशको शिर निहुरिएको उल्लेख गरेकाछन् । उनले यस घटनालाई लिएर जातीय हिंसा नभडकाउनन र विभेदकारी कार्यको शान्तीपूर्ण सचेत र सकृय विरोध गर्न अनुरोध गरेका छन् । केन्द्र देखि प्रदेश र स्थानिय सरकारहरुले जाति, धर्म, वर्ण, क्षेत्र, वर्गका आधारमा विभेद गर्ने अवस्थाको अन्त्य गर्ने अवस्था सिर्जना गर्नुपर्ने सचेत गराएकाछन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यपारी, शिक्षक, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । उपस्थितले कार्यक्रम अत्यन्त सान्दर्भिक भएको र आँउदा दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित गर्दै अघि वढ्नको लागि ऐक्यवद्धता जनाए ।

तपाईको प्रतिक्रिया