काठमाडौँ- ठेकेदारसँग पैसा लिँदै गरेको अवस्थामा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) रंगेहात पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत इन्सपेक्टर रामबालक राय घुससहित पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले ठेकदार दुर्गा लामासँग १२ हजार लिँदै गरेको अवस्थामा इन्सपेक्टर रायलाई घुस रकमसहित पक्राउ गरेको हो ।

शनिबार बिहान भिमफेदी– ६ स्थित सगरमाथा होटलबाट इन्सपेक्टर रायलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि उनले ठेकेदार लामासँग पैसा माग्दै आएको बुझिएको छ ।

‘कारबाहीका लागि वाग्मती प्रदेश कार्यालय तानिसकेका छौं । उनी आजैबाट निलम्बन भइसकेका छन् । अब कानुन प्रक्रियाअनुसार कारबाही अगाडि बढ्नेछ’, बाग्मती प्रदेशका डिआइजी बसन्त लामाले बताए ।

घटनाबारे थप अनुसन्धान गर्दै घुससहित पक्राउ परेका इन्सपेक्टर रायलाई अख्तियारमा बुझाउने प्रदेश कार्यालय प्रहरीको तयारी छ ।

तपाईको प्रतिक्रिया