दिंला- भोजपुरको षडानन्द नगरपालिका- १ नेपालेडाँडामा ठेकदारको लापारबाहीले तोकेको समयमा स्वास्थ्य चौकी भवन नबन्दा विगत ५ वर्षदेखि जिर्ण भवनबाटै दैनिक सेवा प्रवाह हुँदै आएको छ । दैनिक २५ को हाराहारीमा सेवाग्राही आउँदा जोखिमपूर्ण भवनकै कारण सेवा दिन समस्या हुनेगरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

पक्कि भवन नहुँदा प्रसुती गराउने सुत्केरीलाई पनि अन्यत्र लैजानुपर्ने सास्ती छ । अन्य स्वास्थ्य चौकी, खाँदबारी तथा धरान विराटनगर लैजानुपर्दा सुत्केरी महिलाको ज्यानलाई जोखिम साथै खर्च पनि धेरै हुने गरेको स्थानीय कविता भण्डारीले बताईन् ।

व्यवस्थित भवन नहुँदा स्वास्थ्य सेवाका लागि आउने ग्रामीण सर्वसाधरण र स्वास्थ्यकर्मीले चरम सास्ती खेप्नुपरेको स्वास्थ्य चौकीका अहेब मेघराज देवकोटाले सुनाए । ‘सामान्य औषधी वितरण गर्न पनि समस्या छ, कतिबेला बर्षात र हावाहुरीले भवन भत्किने हो पत्तो छैन’ उनले भने, ‘एउटा पक्कि भवन नहुँदा जोखिम मोलेर स्वास्थ्य प्रवाह गर्नुपर्ने बाध्यता छ’ ।

ठेकेदारको लापारबाहीले समयमै अस्पताल भवन नबन्दा जिर्ण भवनबाटै सेवा प्रवाह गर्न बाध्य रहेको स्वास्थ्य चौकीले जनाएको छ । उक्त अस्पताल भवन बनाउन ०७३ सालमा स्वास्थ्य मन्त्रालयले करिब ३ करोडको टेन्डर खुलाएको थियो । भवन निर्माणको ठेक्का पाएको नागराज कन्स्ट्रक्शन भोजपुरले शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाबाट १८ महिनामा काम सम्पन्न गर्नेगरी स्विकृति पाएपछि काम सुरु ग¥यो । तर कन्स्ट्रक्शनका सञ्चालक देवी कार्की व्यक्तिगत समस्या देखाउँदै आलटाल गर्दै बसेपछि काम ठप्प भएकोे हो ।

बारम्बार ताकेता गरेपछि कन्स्ट्रक्शनले काम थालेपनि सोचे अनुरुप कामले गति नपाएको वडाध्यक्ष रामेश्वर भण्डारी बताउँछन् । विभिन्न बहानामा ठेकेदार नै सम्पर्कमा नआउँदा निर्माण काममा ढिलाई भएको वडाध्यक्ष भण्डारीले बताए । १८ महिनामा सक्ने गरी ठेक्का पाएको ठेकेदार कम्पनीको लापर्वाहीको कारण निर्माणधिन पक्की भवन पनि जीर्ण वन्दै गएको भण्डारीले वताए ।

तपाईको प्रतिक्रिया