दिङ्ला– कोभिड १९ का कारण चैत्रवाट सरकारले घोषणा गरेको लकडाउन र बर्षात अहिले विभिन्न विकास निर्माण गर्ने जिम्मा लिएका ठेकेदार कम्पनीलहरुलाई आलटाल गर्ने एउटा राम्रो वाहना भएको छ । नेपाली चर्चित उखान “जव भयो राती अनि बुढी ताती” भने झैं आर्थिक बर्षको अन्त्यतिर हाप र झाप गर्दै बजेट निकासाको लागि काम गरिरहेकाछन् ।

यता भोजपुरको दिंला बजारमा ७ महिना अघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईवाट शिलान्याश भएको भोजपुरको षडानन्द बहुदेश्यीय भवनको निर्माण कार्य भने लकडाउन र बर्षातका विच पनि तिब्र गतिमा भईरहेको छ । लकडाउनको समय र बर्षातमा पनि निरन्तर काम भईरहेको बहुदेश्यीय भवनको निर्माण कार्य शुरु भएको ७ महिनामा ६० प्रतिशत वढि काम सम्पन्न भएको कुन्सालिङ अरुण बरुण जेभि कम्पनीले दावि गरेको छ ।

कम्पनीले १ बर्ष भित्रमा काम सक्ने लक्ष्यका साथ काम थालेको तर लडाउन र बर्षातले गर्दा अपेक्षित समयमा काम सम्पन्न गर्न समस्या पारेको कुन्सालिङ अरुण बरुण जेभी कम्पनीका निर्देशक मिगुर शेर्पाले बताए ।

कम्पनीका सञ्चालक सदस्य प्रेम शेर्पाले भने “हामीले एक बर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गर्ने योजना अनुसार काम थालनी गरेका थियौ तर लकडाउन र अत्याधिक बर्षातका कारण निर्माण सामाग्री र कामदारको अभाव भएका कारण लक्ष्य अनुसार काम गर्न नसक्ने अवस्था आएको छ । ”

अरुण नदिको लम्सुवामा पुल निर्माणको ठेक्का पाएको स्वच्छन्द निर्माण कम्पनीले १० बर्ष वित्नलाग्दा पनि पुल निर्माणलाई लथालिङ्ग वनाएको अवस्थामा ठूला विकास निर्माण योजना निर्माण कम्पनीवाट आजित भएका दिङ्लाका सरोकारवालाहरु भने वहुउद्देश्यीय भवन निर्माणको काम तिब्र गतिमा भईरहेको प्रति खुसी व्यक्त गरेका छन् ।

उद्योग वाणिज्य संघ दिङ्गलाका अध्यक्ष रमेश श्रेष्ठले ईच्छा शक्ति र कुशल व्यवस्थापनका कारण भवन तिव्ररुपमा निर्माण भईरहेकोमा खुशी व्यक्त गरेका छन् । उनले राम्रो काम गर्नेलाई पुरस्कृत र काम नगर्ने लाई दण्डित गर्नुपर्ने पनि सरकार समक्ष माग गरेका छन् ।

षडानन्द सिताराम गुठीका अध्यक्ष कृष्ण प्रसाद पौडेलले लकडाउन बर्षात जस्ता समस्याका बावजुत पनि भवन निर्माण कार्य गरिरहेकोमा ठेकदार कम्पनी र सरोकारवालाहरु प्रति आभार प्रकट गरेका छन् । पौडेलले भने “गुठीको आफ्नो कार्यकालमा प्रदेशको यति ठुलो बजेटबाट बहुदेश्यीय भवनको निर्माण कार्य तिव्र रुपमा भईरहेकोमा ठेकेदार कम्पनीका साथै प्रदेश सरकार, स्थानीयवासीहरु, साथै गुठी समितिका सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहन्छु ।”

भवन निर्माणको ठेक्का कुन्सालिङ अरुण बरुण जेभि कम्पनीले ४ करोड २५ लाखमा २०७८ साल कार्तिकमा सक्ने गरि पाएको थियो । १ नम्वर प्रदेश कार्यालयको आर्थिक सहयोग र सहरी विकास कार्यलय धनकुटाको प्राविधिक सहयोगमा भवन निर्माण कार्य भईरहेको छ ।

तपाईको प्रतिक्रिया