दिंला,१ साउन- भोजपुरको षडानन्द नगरपालिकाले विश्वकै अग्लो शिवालय र विश्वकै ठूलो गुम्वा निर्माण गर्ने भएको छ । मंगलवार नगरपालिकाका मेयर विरवल राईले चौथो नगर सभामा आर्थिक वर्ष २०७७/०७८ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाको पर्यटकीय स्थल साउने डाँडामा शिवालय र गुम्वा निर्माण गर्ने वताएका हुन् ।

नगरपालिकामा पर्यटकीय गतिविधि प्रायः शून्य भई रहेको अवस्थामा सामाजिक, साँस्कृतिक तथा पर्यटन सम्वन्धी नीतिमा नगरपालिकाको उत्तरी क्षेत्रमा अवस्थित साउँने डाँडामा विश्वकै अग्लो शिवालय र विश्वकै सवैभन्दा ठूलो गुम्वा निर्माण गर्ने महत्वकांक्षी योजना अगाडि सारिएको हो । शिवालय र गुम्वाका अलावा घ्याम्पे चौर नजिक यलम्वर स्ट्याचु, गौरी चौरमा षडानन्द पार्क, मझुवा वेंशीमा योगमाया पार्क, सतिघाटमा सति ग्रीन पार्क निर्माणको योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ । यस आर्थिक बर्षमा होमस्टे निर्माण गर्ने क्षेत्रको पहिचान गरि होमस्टे निर्माणको काम नमुनाको रुपमा सुरुवात गरिने पनि बुँदामा उल्लेखित छ ।

सामाजिक, साँस्कृतिक तथा पर्यटन सम्वन्धी नीतिमा साउने मैयुंग डाँडा, छांगे झरना, भोटेछाप तथा मानेडाँडा, पखुवा भञ्ज्यांग, रानीवन, सतिघाट हरु नगरपालिकाका उत्कृष्ट गन्तव्य हुन भनिएको छ । अरुण नदिलाई प्रयोग गरि र्याफ्टिंग, बोटिंगको माध्यमवाट पर्यटनको विकास गर्न त्यसको अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा रामचन्द्र मन्दिर , सिता कुण्ड, कैलाश डाँडा, हनुमान कुण्ड, पार्वती पोखरी, चामेश्वर पार्टीलाई निर्माण कार्यको निरन्तरता दिई पुरातात्वीक महत्वका धरहरलाई संरक्षण गरिने पनि उल्लेख गरिएको छ ।

दिंला बजार स्थित षडानन्द गुरुको शालिक अगाडि २१ मुखे रुद्राक्षको स्तम्भ निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपाकिलाले योगमाया आयुर्वेद विश्वविद्यालयको नाममा आवश्यकता अनुसारको जग्गा न्युनतम ३५ सय रोपनी उपलव्ध गराउने र विश्वविद्यालय सञ्चालन गर्न आश्यक सहयोग उपलव्ध गराउने पनि सामाजिक, साँस्कृतिक तथा पर्यटन सम्वन्धी नीतिमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया