संखुवासभा- सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा पहिरोका कारण विस्थापित १०४ घर परिवारलाई अस्थाई वासस्थानमा सारिएको छ। पहिराको उच्च जोखिम भएपछि सिलिचोङ –१ बेसिन्दा, चेप्चेवालगायत गाउँका विस्थापित १०४ घरपरिवारलाई अस्थाई वासस्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

पहिराले बेसिन्दालगायत गाउँ कुनै पनि बेला पहिराले तान्न सक्ने खतरा भएपछि सुरक्षित स्थानमा सारिएको हो । गत असार २८ गते आएको पहिराले बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएकाछन् । पहिरोका कारण सिसुवा, बेसिन्दा र चेप्चेवा गाउँ नै पहिराले जमीन चिराचिरा भएर फाटेको छ । पहिराबाट विस्थापित बेसिन्दाका ५७ घरलाई बेसिन्दाभन्दा माथिको चित्रे डाँडामा अस्थायी बास निर्माण गरी राखिएको प्रजिअ आचार्यले बताए ।

त्यस्तै २९ घरपरिवारलाई सिसुवाको बुधबारे बजारमा राखिएको छ । चेप्चेवाका १८ घर परिवारलाई बुधबारे नजिकैको पौखमटार राखिएको प्रजिअ आचार्यको भनाइ छ । बेसिन्दाको पहिरोबाट विस्तापित घरपरिवारलाई सुरक्षाकर्मीले अस्थायी आवास निर्माण गरेर राखेको हो । बेसिन्दा पहिरोबाट चार जनाको जीवितै उद्धार गरिएको थियो ।

पहिराबाट बेपत्ताको उद्धारका लागि सदरमुकाम खाँदबारीबाट गएको ६० जनाको टोली फर्किएको छ । गत असार २८ गते गएको पहिरोबाट ११ जना अझै बेपत्ता छन् । पहिरोमा परि हराइरहेकाको खोजीका लागि जिल्लाबाट गएको सुरक्षाकर्मीको टोली आठ दिनसम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि आइतबार फर्किएको हो । बेपत्ताको खोजी अहिले पनि जारी राखिएको छ ।

पहिरोबाट हराइरहेकाको खोजीका लागि जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको सहयोगमा अहिले पनि पनि खोजीकार्य जारी राखिएको छ । बेपत्ताको खोजीका लागि अहिले ताम्कु र बुधबारे प्रहरीचौकीबाट १३ जना प्रहरीको टोलीले खोजी र निगरानी गरिरहेका छन् ।

पहिरो पीडितलाई प्रदेश नं १ सरकारले हेलिकप्टरमार्फत राहत सामग्र्री पु¥याइसकेको छ । प्रदेश सरकारले पीडितलार्ई १५ क्वीन्टल चामल, दुई क्वीन्टल दाल, १०० लिटर तेल, ५० किलो नून, ५३ पाल, १० बाकस चाउचाउ र १० बाकस बिस्कुट तथा म्याट सहितका राहत सामग्री पीडितलाई दिइसकेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए ।

पहिरो पीडितलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायबाट समेत राहत सङ्कलन गर्ने काम भइरहेको बताइएको छ । हालसम्म विभिन्न सङ्घसंस्थाबाट रु दुई लाखभन्दा बढी सङ्कलन भइसकेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया