भोजपुर- भोजपुरमा कोभिड १९ को संक्रमणको आशंकामा देशका विभिन्न स्थानका साथै भारतीय सीमानाका र अन्य देशबाट आएकालाई राख्न बनाइएका क्वारेन्टाइनहरु खाली बनेका छन्। क्वारेन्टाइनमा बस्नेहरुको स्वाब र आरडिटी परीक्षण गरेर घर फर्काइएपछि क्वारेन्टाइनहरु रित्तिएका हुन्।

जिल्लाका ९ स्थानीय तहका ६ सय १७ क्वारेन्टाइन शैया खाली छन्। भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनाको पनि आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पनि घर फर्काइएको छ। पछिल्लो समय भारत तथा अन्य देशबाट आउनेको संख्या घटेसँगै क्वारेन्टाइन रित्तिएका हुन्। यसबाहेक भारतीय सिमानाकाबाट उद्वार गरी ल्याइएका १९ जना अरुण गाउँपालिकाको जरायोटार रानीटारमा बनाइएको होल्डिङ सेन्टरमा राखिएका छन्।

जिल्ला प्रशासन कार्यालयले बाहिरबाट आएर बसेका सबैको स्वास्थ्य सकुशल भएकाले घर फर्किसकेको बताएको छ। क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए। अहिले होम क्वारेन्टाइनमा ४६ जना छन्। कोभिड १९ संक्रमण भएपछि विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनबाट ८ सय ८० जना घर फर्किएका छन्।

कोरोना संक्रमण आशंकामा ५ सय २० जनाको स्वाब परीक्षण र एक हजार चार सय ८ जनाको आरडिटी परीक्षण गरिएको थियो। भोजपुरमा गत बैशाख ११ गते हतुवागढी गाउँपालिकामा १ जना र जेठ २३ गते षडानन्द नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया