संखुवासभा,२५ साउन- संखुवासभाका लोकप्रिय गायक खेमराज गुरुङको नाममा घोषणा गरिएको मार्गको उद्घाटन् भएको छ । स्व खेमराज गुरुङको नाममा घोषणा गरिएको खाँदबारी नगरपालिका–३ मंगलादेवीथान सुमनचौक देखी झरिथुम्का निस्कने बाटोको आज एक कार्यक्तम बिच खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा सम्वोधन गर्दै मेयर खतिवडाले लोकप्रिय स्वर्गीय गायक खेमराज गुरुङको पुरानो घरलाई संग्राहालय बनाउनु पर्ने बताएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरमा गीत संगितको माध्यमबाट संखुवासभा जिल्ला र मनकामना धामको प्रचारप्रसार गर्न अग्रणी भूमिकाले खेलेको र चिनाउन समेत सफल भएको अमर स्रष्टाको सम्मानको लागि खेमराजको पुरानो घरलाई व्यवस्थित गरेर संग्रहालय बनाउने सोच बनाउनु पर्ने मेयर खतिवडाको भनाइ थियो ।

खेमराज गुरुङ ट्रष्ट नेपाल, खेमराज गुरुङ फाउण्डेसन तमू ह्यूल छोजधीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति संखुवासभा र गुवाबारी अर्गानिक सामुदायिक होमस्टेले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा खेमराज गुरुङ ट्रष्टका अध्यक्ष सुमन श्रेष्ठले आफ्नो बालसखा समेत रहेका खेमको पुरानो घर हुर्दै झरिथुम्का निस्कने बाटोलाई खेमराज मार्ग घोषणा गरिनुनै उनको कर्मले पाएको सम्मान भएको बताए ।

खेमराज फाउण्डेसनका अध्यक्ष भविश्वर गुरुङले खेमको ब्यक्तित्व र उनले गरेको कामका बारेमा चर्चा अझै पनि चौतर्फी रहेको बताए । उनी मरेर गएपनि उनले सधैभरि सम्मान पाइरहने बताउर्दै उनको सम्मान र जिवन्त बनाउनका लागि खेमराज मार्ग घोषणा गरिएको बताए ।

कार्यक्रममा साहित्यकार ताराबहादुर बुढाथोकीले खेमराज गुरुङ अत्यन्तै प्रतिभाशाली ब्यक्तित्व भएको र उनको अदभूत कलाका कारणले नै आज सम्म सबैको मनमुटुमा रहन सफल भएको बताए ।

तपाईको प्रतिक्रिया