धरान-  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । धनुषाको ढल्केबर ७ बस्ने ८५ वर्षीया वृद्धा महिलाको उपचार गर्दागर्दै बुधबार राति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाले बताए ।

उनका अनुसार धनुषास्थित एक निजी अस्पतालले निमोनिया भएको शंका गरेर साउन २६ गते प्रतिष्ठानमा थप उपचारका लागि रिफर गरेको थियो । प्रतिष्ठानमा ल्याउनासाथ उनलाई कोरोना संक्रमण भएको आशंका गरी पीसीआर जाँच गरिएको थियो ।

पीसीआर रिपोर्ट कोरोना पोजिटिभ आएपछि ती वृद्धालाई तत्कालै आईसीयु भएको आइसोलेसन वार्डमा भर्ना गरेको प्रवक्ता सापकोटाले बताए । उनले भने, ‘प्रतिष्ठानमा ल्याउँदा वृद्धालाई ज्वरो आएका थियो । स्वासप्रश्वासमा पनि समस्या देखिएको थियो । भर्ना गरेको दुई दिनमा उनको निधन भयो ।’

कोरोना संक्रमित भएर प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकामध्ये बिहीबारसम्ममा ६ जनाको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया