- मेघराज तामाङ

बेसिन्दा पहिरो पिडितका समस्या, सरकारी निकायका हालसम्मका प्रयासका विषयमा रिपोर्टिङ गर्न गत साउन २५ गते तिर सदरमुकाम खाँदबारीबाट पत्रकारको टोली (ध्यान कुलुङ–गोर्खापत्र, खेवाहाङ मेवाहाङ–सगरमाथा टेलिभिजन, स्थानीय संयोगान्त कुलुङ र म) त्यसतर्फ लाग्यौँ । हिउँदमा शिलिचोङका अधिकांश वडासम्म सवारी यात्रामा पुगिने भएपनि असारे विकासका योजनामा मर्मत र निर्माण गरिएका सडकहरु अहिले संखुवा खोलाले अरुण नदीमा मिसाउँदा सायद बंगाल तिरै पुगिसके होलान् । त्यसैले खाँदबारीबाटै मोटरसाइकलमा जबरजस्त हेलुवाबेसीसम्म पुग्यौं । ताकी मोटरसाइकलमा गुड्नु भन्दा बढी हिड्नु पर्ने बाध्यता थियो । हामीलाई बोक्ने मोटरसाइकललाई हामीले अझै बढी बोक्यौं ।

हेलुवाबेसीबाट पैदल यात्रामा बुधबारे पुग्नु थियो । हिडाईको थकानले गर्दा बुम्लिङटार (भोजपुर) को तेर्सो सडकमा साँझ परिसकेको थियो । मोबाइलको टर्च बालेर संखुवा खोलाको गढतिरबाट हिउँदको सडकमा सकस यात्रा ग¥यौं । किनकी अहिले सडक जस्तो छैन । सडक पनि संखुवाको बगर बनेको छ । अबिरल वर्षाले माटो बगाएपछी निस्किएको चट्टानमा हात र खुट्टाका नंग्रा गाडेर गन्तव्यको दूरी कम गर्न हामीले ठूलै संघर्ष गर्नुप¥यो । चमेरो झैं झुन्डिएर पार गर्नुपर्दा केही गरी हात वा खुट्टा मध्ये एक खस्किए त्यहीँ सडक जसरी नै संखुवाले पुन अरुण नदी भएर बंगालको खाडी पु¥याउने छ । हिउँदमा तीन घण्टामा पुगिने बुधबारे यो संकटपूर्ण यात्रामा करिब ७ घण्टा बितेछ ।

पहिरोपछीका प्रयास

गत असार २७ गते राती अबिरल वर्षापछी आएको पहिरोले शिलिचोङ गाउँपालिका वडा नं. १ बेसिन्दा गाउँका ९ घर बगाउँदा ११ जना वेपत्ता भए । पहिरोमा बेपत्ताको खोजी गर्ने क्रममा एक जना स्थानीयको हृदयघातका कारण मृत्यु भयो । पहिरोले बेसिन्दा गाउँका ८६ घर सोही पहिरोबाट चेप्चेवाका २० घरलाई विस्थापित ग¥यो । बेसिन्दाका ८६ मध्येका २९ परिवारलाई वडा नं. २ को सिसुवाटार बुधबारेमा अस्थायी बसोबासका लागि पुर्नस्थापना गरिएको छ । चेप्चेवाका २० परिवारलाई वडा नं. २ कै पौखमटारमा पुर्नस्थापना गरिएको छ भने वडा नं. १ को चित्रेमा ५३ परिवारलाई व्यवस्था गरिएको छ । व्यवस्था गरियो त भनियो तर कत्तिका व्यवस्थित छन् यसमा कसैले महत्व राखेका छैनन् ।

घटनापछी प्रदेश सरकारको पहलमा खाद्यान्न सामाग्री सहित ५३ थान टेन्ट र त्रिपाल विस्थापित परिवारलाई पुर्न स्थापनाका लागि पु¥याइयो । १ सय ६ घर विस्थापितहरुमा ५३ परिवार बाहेककालाई टेन्ट व्यवस्था गर्छु भनेर फर्किएको प्रदेश सरकार एक महिना बित्दा समेत पुन शिलिचोङ तर्फ फर्किन सकेको छैन । बुधबारेमा राखिएका २९ परिवारलाई थोर बहुत सहजै रहेको पाइन्छ । पौखमटारमा राखिएको भनिएको २० घर परिवार टेन्ट अभावका कारण बस्न सकेका छैनन् । उनीहरु आफन्तकोमा ११ जनादेखि २१ जनासम्म कोचिएर बस्नुपर्ने कहिलेसम्म हो थाहा छैन । यता चित्रेमा राखिएका ५३ परिवार मध्ये २४ परिवार टेन्टमा बस्दै आएका छन् । अन्य परिवार आफन्तकै आश्रयमा छन् । खानेपानी अभाव झेलिरहेका यहाँका पिडितहरु चिसोका बिरामीका सिकार बनेका छन् ।

शिलिचोङ गाउँपालिकाले पिडितलाई राहत र पुर्नस्थापनाका लागि उच्च स्तरीय समिति गठन गरेर काम गरिरहेको छ । उक्त समितिले हालसम्म विस्थापित परिवारलाई आम्दानी श्रोत र क्षतिको आधारमा विस्थापितका श्रेणी विभाजन गरिसकिएको जनाएको छ ।

राहत सहयोगमा लविङ

शिलिचोङमा दुई ठूला दलकै नेतृत्व ठुलै छ । बेसिन्दा पहिरो अघि चुपचाप यिनीहरु पहिरोपछी एकाएक होडबाजीमा उत्रीएका छन् । राहत संकलनमा सहयोगी मन भन्दा पनि पार्टीपंत्तीका हिसाबले विभिन्न समिति बनाएर उधुमसंगले लागि रहेका छन् । दुवै पार्टीलाई एक अर्काप्रति डर छ, त्रास छ । अर्को पार्टीले बढी रकम संकलन गर्ने होकी भन्ने व्यग्र चिन्ता छ । दल बाहेकका देश विदेशका विभिन्न संघसंस्था र व्यक्तिहरु सामाजिक सञ्जाल मार्फत सहयोगको अपिल गरिरिहेका छन् । मोटो रकमहरु पनि हात परेका छन् । तर सहयोग संकलन गर्ने संस्थामा कुन व्यक्तिको नेतृत्व छ ? ती व्यक्ति कुन पार्टीका हुन् ? आफ्ना पार्टी भए जाती, अर्को पार्टी भए अब्जस लगाउने र पार्टी निकटका होइनन् भने भन्दा लाग्ने व्यक्तिको खोजी गरी आफ्नो पार्टीमा समाहित गर्ने प्रवृत्तिले नेतृत्वदेखि कार्यकर्तासम्मलाई आराम छैन । यो अभ्यास एक महिना बितिसकेको छ ।

यता जिल्लाका विभिन्न संघसंस्था तथा सहयोगी दाताहरुले दिएका राहत सामाग्री पार्टी कै नेतृत्वमा ल्याइएको, हाम्रो पार्टीको फलनाको पहलमा ल्याइएको भनेर सामाजिक सञ्जालका भित्ताहरुमा बाक्लै गरि पोस्ट्याइएका छन् । सहयोगी संघसंस्थाहरु, दाताहरु सडकको दुर्दशाका कारण पिडितका सामु पग्न सकेका छैनन् भने सरकारको एकद्धार प्रणाली अन्तर्गत सदरमुकाममा सरकार माताहतका निकायलाई राहत सामाग्री र रकम हस्तान्तरण गर्न बाध्य छन् । जस्ले गर्दा पिडितका सहरा बनेका दलका नेतृत्वहरु सदरमुकाम आएर राहत सामाग्री लैजाने र पिडितसम्म पुग्दा निस्वार्थ सहयोगी दाताहरुको राहतमा बाह्र वर्षपछी फुलेको उन्युँमा राजनितिको गु गन्ध छरिरहेका छन् ।

पिडितलाई राजनितिक बिलो

सिकारीले सिकारमा संलग्नलाई बिलो बाँडे जसरी नै बेसिन्दा पहिरो पिडितलाई पनि राजनितिक बिलो बाँडिएको छ भन्दा फरक नपर्ला । पहिरोले यो वा त्यो दलको नभने पनि पहिरोपछी विस्थापितहरुको भागबन्डा नेतृत्वहरुले रानितिक रुपमा गरिरहेका छन् । चित्रेमा भएकाहरुलाई बुधबार देखाउँदै तीनीहरु फलना दलका हुन् । त्यसैले उनीहरुलाई बुधबारेमा लगेर राखे । टेन्टमा राखे । चेप्चेवाकालाई पनि बुधबार देखाउँदै त्यसै भन्ने । बुधबारेकालाई टेन्ट दिने अनि तिमीहरुलाई त्रिपाल दिएर विभेद गरे । त्रिपालमा कोही नबस भनेर उराल्नाले राहतका नाममा आएका सामाग्री समेत प्रयोग गर्न सकिरहेका छैनन् पिडितहरु । यो गतिविधि गर्न कुनै पनि पार्टी कम्जोर छैन ।

वडामा वडाध्यक्षको नेतृत्व र गाउँपालिकामा गाउँपालिका अध्यक्षको नेतृत्वलाई पार्टीसँग तुलना गरेर पक्ष र विपक्ष बनाइनुले हिजो समर्थन गरेकाहरुलाई समेत अहिले खपिनसक्नुको विरोध गर्ने बनाइसकेका छन् राजनितिका सिकारीहरुले । त्यसैले नेतृत्वलाई पार्टी देखाएकैले होला आज सोझा पिडित पनि नेतृत्वका राम्रै काम भएपनि पार्टीको चस्मा लगाएर हेरिदा विरोधको पक्षमा छन् । यसरी नेतृत्व र पिडितहरुलाई पार्टीको पगरी लगाईदिनुले पाउनुपर्ने सेवासुविधाको समेत उनीहरु विरोध गरिरहेका छन् ।

नेतृत्व फेरियो आवाज फेरिएन

प्राकृतिक विपत्तिका हिसाबले शिलिचोङ गाउँपालिकामा बेसिन्दा पहिरो स्थानीय र नेतृत्वलाई नयाँ कुरा होइन । वि. सं. १९९२ र २०२२ सालको सिंगो गाउँ नै पहिरोमा बगेको मांतेवा पहिरो, २०६६ साल साउन २ गते १४ जना बेपत्ता भएका सिकिदिम पहिरो लगायत वर्षेनी दुई÷चार परिवार विस्थापित हुनु पर्ने घटनाका साक्षी यी नै दलका नेता कार्यकर्ता, बौद्धिक व्यक्ति व्यक्तित्व, समाजसेवी र स्थानीयहरु हुन् । प्रत्येक वर्ष विस्थापित परिवारलाई विभिन्न संघसंस्था र दाताहरुको सहयोगमा पुर्नस्थापना गरिन्छन् । तर स्थायी बसोबासको विकल्प कहिले गर्दैनन् । किनकी विस्थापितहरुलाई दिगो लक्ष्यकासाथ स्थायी बसोबास गरियो भने भोली राजनितिक विषयवस्तु के बनाउने ? भोट माग्ने एजेण्डा हराउँछकी भन्ने निरिह सोचाईका कारण अहिलेको मात्र हैन दशकौं अघिका विस्थापितले पनि स्थापित हन पाइरहेका छैनन् । सोझै भन्ने हो भने पिडितको पिडामा राजनिति गर्नेहरुले ती सोझा गाउँलेलाई स्थापित हुन दिइरहेका छैनन् ।

पिडितका समस्या समाधान गर्ने भनेर मुखले ओकल्ने तर मनमा अंगार पोतिएका ब्वाँसा जस्ता नेतृत्वहरु पटकपटक कार्यकाल सकाउँदै फेरबदल भइरहेका छन् । नेतृत्व वर्गको जस्तै पिडितहरुको आवाज पनि फेरिनेवाला छैन समस्याको तर उनीहरुको जीवनशैली पनि फेरिनेवाला छैन नेतृत्वको जस्तै ।

समग्रमा बेसिन्दा पहिरो र पिडितलाई नियाल्दा पहिरो हिजो पनि गयो, आज पनि जाँदै छ र भोली पनि जानेवाला छ । व्यवस्थाहरु जस्तै नेतृत्व पनि फेरिइरहेका छन् । तर दलगत स्वार्थका कारण नत हिजोका पिडितको समस्या समाधान भयो, नत भोलीका पिडितका नै हुनेछन् । स्वार्थ पुरा हुने छत केवल पिडितको विषयलाई लिएर स्वार्थको राजनिति गर्नेहरुको ।

त्यसैले शिलिचोङलाई नजिकबाट नियाल्ने सबै तह र तप्का नेतृत्वहरु, नियामक निकायका नेतृत्वहरु, परिवर्तन, विकास र समस्या समाधानका उपाय खोज्ने आम मान्छे र सञ्चारकर्मीहरु शिलिचोङको यो प्रवृत्ति प्रति चासो राख्न, विस्थापितहरुको स्थायी पुर्नबास र वेपत्ताहरुको परिवार प्रति सहानुभुति राख्न पार्टी, जाती र स्वार्थ भन्दा माथि उक्लन सक्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया