संखुवासभा-  चारदिन अघि कोरोना पुष्टि भएका संखुवासभाका कोरोना संक्रमितहरुलाई आइसोलेसनमा राख्न अवरोध भएपछि उनिहरु खोला किनारमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्‍न बाध्य छन् ।

उनीहरुलाई मादी नगरपालिकामा पर्ने पिलुवाखोला किनारमा टिनको छाप्रोमा राखिएको हो । सामान्य अवस्थामा बसेर दिन बिताउने गरेको संक्रमितले गुनासो गरेका छन् ।

सोमबार एक प्रहरीसहित ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसन अभावपछि उनीहरुलाई खोला किनारमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो । अर्का एक जना जिल्ला प्रहरी कार्यालयकै क्‍वारेन्टाइनमा छन् ।

जिल्लामा सरकारी र निजीसहित २० बेडको आइसोलेसन वार्ड भएपनि स्थानीय हिमालय किरण क्याम्पस प्रशासनले अवरोध गरेपछि संक्रमितलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटी बताए । स्वास्थ्य कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालयका २२ वर्षीय पुरुष, धर्मदेवी नगरपालिका ४ का ४३ वर्षीय पुरुष र चैनपुर नगरपालिका ११ का २४ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

जिल्ला अस्पतालले हिमालय किरण क्याम्पसमा लाखौं खर्च गरेर बनाएको १० बेडको आइसोलेसन प्रयोगमा क्याम्पस प्रशासन र स्थानीयको विरोध पछि प्रयोगमा आउन नसक्दा संक्रमितहरु उपचार अभावमा खोला किनारमा निर्माण गरिएको क्‍वारेन्टाइनमा बस्‍न बाध्य छन् ।

तयारी गरिएको आइसोलसन प्रयोगमा अवरोध भएपछि जिल्ला अस्पतालले खाँदबारी नगरपालिका ९ ढुंगेविसौनाको प्राथिमक विद्यालयमा आइसोलेसन निर्माण गर्न खोजेपनि स्थानीयले विरोध गरेपछि स्थागित भएको छ । बरुण बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइन समेत हटाउन क्याम्पस प्रशासनले माग गरेको छ ।

यसैबीच, बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले हिमालय किरण क्याम्पसकै आइसोलेसन प्रयोग गर्ने निर्णय गरेको छ । अर्को व्यवस्था नभएसम्म क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा ती संक्रमितको उपचार गरिने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

तपाईको प्रतिक्रिया