भोजपुर-हामीले आर्थिक अभावका कारण उपचार नपाउँदा मानिसले अकालमै ज्यान गुमाउनु परेको समाचार वाराम्वार सुन्दै आएका छौं । तर भोजपुरका एकजना व्यापारीले भने आर्थिक समस्या नभएता पनि अस्पतालहरुको अमानविय व्यवहारका कारण अकालमै ज्यान गुमाउनु परेको छ ।

भोजपुरको हतुवागढिका व्यापारी सुन्दर श्रेष्ठलाई भाद्र १ गते ज्वरो आएको संकेत देखियो । २ गते भोजपुरको घोरेटार स्वास्थ्य केन्द्रमा परीक्षण गराउँदा जन्डिस भएको रिपोर्ट आयो । त्यहाँबाट अलिक सुविधा सम्पन्न अस्पतालमा लैजानका लागि स्वास्थ्यकर्मीको सुझाव अनुसार परिवारजनले भोजपुर जिल्ला अस्पताल लगे ।

तर, भोजपुर अस्पतालले सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजान सुझाव दिएपछि भाद्र ४ गते साँझ धरानस्थित वीपी प्रतिष्ठानमा लगेर बिरामीको उपचार गर्न सुरु गरियो ।

तर, राती १० बजे डाक्टरले आइसियु खाली नभएको र बिरामीलाई अन्यत्र नै रिफर गर्नुपर्ने सुनाएपछि परिवारजन झस्किए । वीपी प्रतिष्ठानमा भनसुन भएमात्र आइसियु खाली हुने बताएसँगै परिवारजनमा झनै तनाव बढ्यो । भनसुनको पहुँच नपुगेपछि परिवारजनले विराटनगरका अस्पतालमा उपचारको लागि प्रयास सुरु गर्यो ।

विराटनगरका सबैजसो अस्पतालमा फोन सम्पर्क गरिएपनि सबै अस्पतालले आइसियु खाली नभएको जानकारी गराएपछि कोशी अस्पताल विराटनगरमा कार्यरत एकजना नर्सको समन्वयमा विराटनगरको महेन्द्रचौकमा रहेको म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आइसियु खाली रहेको बुझिएपछि उपचारका लागि त्यतातिर लगियो ।

राती साढे १२ बजे वीपी प्रतिष्ठानबाट एम्बुलेन्समा राखेर म्याक्स हस्पिटल लगिएपनि जटिल बिरामीलाई भर्ना गर्न नमिल्ने भन्दै फकाईदिएको परिवारजनले गुनासो गरेका छन् ।

विराटनगरको कोशी, न्यूरो लगायतका अस्पतालमा पुर्याईएपनि ती अस्पतालले पनि भर्ना गर्न नमानेपछि राती १ः३० बजे, ग्रिन क्रसमा भेन्टिलेटर खाली भएको बुझिएपछि उक्त अस्पताल लगियो । तर, त्यहाँ पनि जटिल बिरामीलाई भर्ना नलिने भन्दै अस्पतालले फकाईदियो ।

भर्ना गर्नका लागि बारम्बार अनुरोध गरिएपनि आँफूहरुले भर्ना गर्न नमिल्ने भन्दै अस्पताल प्रशासनले बताएपछि सोही राती बिरामीको मृत्यु भयो ।

श्रेष्ठ भोजपुरको घोरेटारमा हार्डवेयर पसल गर्दै आएका थिए । उपचारका लागि विभिन्न अस्पताल घुमाउँदा–घुमाउँदै मृत्यु भएपछि अहिले परिवारजन विक्षिप्त बनेका छन् ।

पछिल्लो समय कोभिड १९ का कारण अस्पतालले जटिल किसिमका बिरामी भर्ना गर्न नमान्दा अकालमै ज्यान जाने गरेका उदाहरण प्रसस्त छन् । यस विषयमा सरकार समयमै सचेत भएर सर्वसाधारणको जिउधनको सुरक्षामा विचार पुर्याउनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया