काठमाडौं- धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

बिहान एक जना पुरुष र एक जना महिला सङ्क्रमितको ज्यान गएको प्रतिष्ठानले जनाएको छ । ज्यान गुमाउनेहरुमा झापाको दमक नगरपालिका-३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका ५ की ५६ वर्षीया महिला रहेका छन् ।

खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएका पुरुष बी एण्ड सी टिचिङ अस्पताल बिर्तामोड झापाबाट र खोकी, ज्वरो र श्वासप्रश्वासमै समस्या भएकी महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएका प्रतिष्ठानले जनाएको छ ।

योसँगै अहिलेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । अहिलेसम्म छ सय ४२ जना सङ्क्रमित भर्ना भएको प्रतिष्ठानमा अहिले ४९ जना आइसोलेशनमा रहेका छन् । नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या एक सय ८६ पुगेको छ ।

तपाईको प्रतिक्रिया