प्रत्येक घरका एक सदस्यको पीसीआर परीक्षण गर्न काँग्रेसको माग

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना संक्रमणको हटस्पट बनेका क्षेत्रमा रहेका प्रत्येक घरका एक सदस्यको कोरोना परीक्षण गर्न माग गरेको छ। दुई दिनसम्म चलेको नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग विभागको बैठकले यस्तो माग गरेको हो।बैठकले कोरोना समुदायमा फैलिएको आशंका भएका क्षेत्रमा एक घर एक परीक्षण गर्न माग गरेको हो। देशमा हाल कोरोना संक्रमण समुदायमा फैलिएको स्वास्थ विदहरुले बताएका छन्। तर, सरकारले भने हालसम्म कोरोना समुदायमा नफैलिएको तर, लोकल ट्रान्समिसन भएको बताउने गरेको छ। सोमबार थपिएका ९७९ केस सहित हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ३०० पुगेको छ। गत २४ घण्टामा ९ हजार २१८ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ७३९ जना क्वारेन्टिनमा रहेका छन्।

हाल सरकारले कन्ट्याक्ट ट्रेसिङ, ट्राभल हिस्ट्री र अनुसन्धानका लागि तोकिएका क्षेत्रमा रहेकाहरुको मात्र कोरोना परीक्षणको मापदण्ड बनाएको छ। तर, कोरोना समुदायमै फैलिएको भन्दै काँग्रेसले त्यस्ता क्षेत्रमा एक घर एक परीक्षण गर्न माग गरेको हो।

यस्तै काँग्रेसले आइसोलेसन व्यापक बिस्तार गर्दै अत्यावश्यक भेन्टिलेटर तत्काल खरिद गरेर कोभिड अस्पतालहरुको भरपर्दो सुनिश्चितता गर्न गराउन बैठकले सरकार समक्ष माग गरेको छ। अभावका बिच कोरोना संक्रमणसंग फ्रन्टलाइनमा रहेर सहयोग गरिरहेका देशभरका स्वास्थकर्मीप्रति बैठकले उच्च सम्मान प्रकट गर्दै उच्च मानवीय भावनाले कार्य गरिरहेका स्वास्थकर्मीहरुको मनोबललाई असर पुग्ने गरि कहिँपनि कुनैपनि ढंगको गतिविधि हुन नदिन सबैमा काँग्रेसले अपील गरेको छ।

काँग्रेसले स्वास्थ्य सामाग्री खरिदमा भएको भनिएका अनियमितताको छानविन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ। बैठकले ओली सरकारको भ्रष्टाचारको सूची तयार पार्नेसमेत निर्णय गरेको छ। निर्णयमा भनिएको छ, ‘स्वास्थ सामग्रीको खरिदमा सम्म भ्रष्टाचार गरिएको घटनाले वर्तमान सरकारबाट सदाचारको अपेक्षा गर्नु कारुणिक भ्रम मात्र हुने निष्कर्ष साथ बैठकले ओली सरकारका सबै भ्रष्टाचारजन्य एकएक कर्महरुको फेहरिस्त तयार गर्ने निर्णय गरेको छ।’