साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गर्दै प्रदर्शन गरेका हुन् ।

कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन् । उनीहरुले त्यहाँ नेपालका सडकमा हुने शैलीमै प्रदर्शन गरे ।

नेपाली कामदारले सुरुमा कम्पनीका अधिकारीसँग आफ्ना समस्या राखे । कम्पनीले नेपालकै दूतावासका कारण तत्काल श्रमिकलाई पठाउन नसकेको जानकारी दियो ।महिनौंदेखि विमान कुरिरहेका उनीहरु मंगलबार (आज) नेपाल उड्ने मिति तय भएको थियो । तत्कालै आफूहरु स्वदेश जान नपाउने अवस्था देखेपछि उनीहरु थप आक्रोशित हुन पुगे ।

त्यसपछि लाग्यो, ‘केपी.., देश छोड’ देखि ‘नेपाली दूतावास खारेज गर’ को नारा । उनीहरुले सरकार र दूतावासलाई नाराबाटै ‘मूर्दावाद’सम्म भने ।

उनीहरुले गरेको नाराबाजीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कम्पनीमा महिनौंदेखि काम नपाएर अलपत्र परेका उनीहरुलाई नेपाल फर्किन पाउने आश्वासन पाएको करिब ७ महिना भयो ।

सरकारले अहिले केही गन्तव्यबाट सीमित मात्र नियमित उडान खोलेको छ । तर, कोरोना संक्रमण जाँच्न पीसीआर परीक्षण सहज नभएको भन्दै साउदीसहितका केही खाडी मुलुकमा चार्टर्ड उडान मात्रै गरिरहेको छ । तर, चार्टर्ड उडानको संख्या यति थोरै छ कि अलपत्र हजारौं नेपाली कहिले घर फर्किन पाउँछन् भन्ने टुंगो छैन । अनलाईन खवरवाट

तपाईको प्रतिक्रिया