त्यो भनेको के हो ? त्यसलाई ईंग्लिसमा के भन्छन् ? आफ्नो नेपाली साहै्र ‘वीक’ छ । नेपाली फिल्म हलमा गएर हेरेकै छैन । नेपाली हिरो–हिरोइन त कोही चिन्दिनँ’

आजकालका युवा–युवतीको मुखबाट यस्ता कुराहरु हामी निकै सुन्छौ । नेपाली भनेको तुच्छ भाषा हो भन्ने भाव आउँछ यसमा । अंग्रेजी भाषाको मोहले युवापुस्तलाई छपक्कै छोपेको छ ।

युवायुवतीको कुरा छोडौं । आजकाल शहरका बाबुआमाहरु आफ्ना छोराछोरीसँग कुरा गर्दा जानिनजानी अंग्रेजी शब्द प्रयोग गर्छन् । बाबु, ‘एप्पल’ खाउ । डोर ओपन गरे । ‘ह्यान्ड वास’ गर । बुकहरु थन्क्याउ । यस्तै यस्तै ।

सर्वसाधारण मात्रै होइन, देशको कला र संस्कृतिको प्रबद्र्धन गर्ने, देशका गहना भनिने सेलिब्रिटीहरु यो मामलामा झनै अगाडि छन् । सामाजिक सञ्जालमा लेख्दा होस वा सञ्चारमाध्यममा अन्तरवार्ता दिँदा, उनीहरुलाई अंग्रेजी शब्द भरमार घुसाउनैपर्छ । अंग्रेजी फरर बोल्ने कलाकारहरुको त शान नै छुट्टै । यही आडम्बरले आज नेपाली भाषा तिरस्कृत हुँदै गइरहेको छ ।

भाषा भनेको संवादको माध्यम मात्र होइन, कुनै पनि देशको सभ्यता र पहिचान हो । जसले आफ्नो भाषालाई माया गर्दैन उसले आफूलाई देशभक्त भन्नु व्यर्थ छ । आज हाम्रै देशमा यस्ता निजी विद्यालयहरु पनि छन्, जहाँ नेपाली बोलेबापत बालबालिकाले सजाय भोग्नुपर्छ । र, अभिभावकहरु यसमा गर्व गर्छन् कि उनीहरुको छोराछोरी पढ्ने स्कुलमा नेपाली बोल्न पाइँदैन ।

दिनहुँ छन्द न बन्दका अंग्रेजी वाक्यहरुले सामाजिक सञ्जालका भित्ताहरु भरिएका हुन्छन् । आफूले राम्ररी प्रयोग गर्न सक्ने मातृभाषा हुँदाहुँदै किन अर्को भाषाको बलत्कार गर्ने ? सबै मानिसले गलत प्रयोग गर्छन् भन्ने होइन । अहिलेको पुस्तामा धेरै मानिसहरु अङ्ग्रेजीमा पोख्त छन् । तर मेरो अनुसन्धानअनुसार धेरै मनिसहरुले अहिले अङ्ग्रेजी र नेपाली दुइटै भाषाको दुरुपयोग गरेका छन् ।

कुनै बच्चा जन्मिएर बोल्न सुरु गर्ने बितिक्कै उसलाई आमा होइन, मम्मी भन्न सिकाइन्छ । बुवा वा बाबा होइन, ड्याडी वा पापा भन्न लगाइन्छ । धेरैजसो अभिभाबकहरु घरमा बोलचालमा आउने सामान्य कुराहरुलाई सुद्द नेपालीमा भन्नुको सट्टा टुटेफुटेको अङ्ग्रेजीमा भन्न रुचाउँछन् । आफ्ना बाबुनानीले नेपाली शब्दहरु नजानेकोमा उनीहरुलाई ग्लानी होइन गर्व हुन्छ । नेपाली नसिके नि हुन्छ भन्ने मानसिकता छ । बच्चाहरुले अंग्रेजी फरर बोलिदिए आमाबाबुलाई पुग्छ ।

यता निजी स्कुलका आफ्नै दुख छन् । बिचरा सरकारी स्कुलमा पढेका शिक्षक–शिक्षिकाहरुलाई उनीहरु अंग्रेजी मात्र बोल्न दवाव दिन्छन् । टुटुफुटेको नै किन नहोस स्कुलले आयोजना गर्ने कार्यक्रमहरुमा बाबुनानीहरुलाई जबर्जस्ति अङ्ग्रेजी भाषाको स्क्रिप्ट रटाएर बोल्न लगाइन्छ । बच्चाहरु कनिकनि बोल्छन् । जसले राम्ररी अंग्रेजी बोल्छ, त्यही शिक्षक–विद्यार्थी स्कुलको प्रिय हुन्छ ।

यो बच्चाहरुको समस्या पक्कै होइन । यो त पुरै अङ्ग्रेजी भाषालाई अनावश्यक बढावा दिने परिपाटी र भाषा प्रतिको गलत अबधारणाको उपज हो । हरेक स्कुलले अङ्ग्रेजी भाषा राम्रोसँग सिकाउने र यसको महत्व राम्ररी बुझाउने तर माध्यम भाषा नेपाली नैए बनाउँदा त्यो सिकाइ बढि प्रभावकारी हुन्थ्यो कि रु आफुले घरबाट भाषाको गलत प्रयोग गरेर बच्चाको सिकाइमा नकारात्मक भूमिका खेलेको अभिभावकले कहिले महसुस गर्ने ?

त्यसो त काठमाडौंमै केही त्यस्ता निजी स्कुलहरु छन, जहाँ भाषालाई भन्दा सिकाइलाई धेरै प्राथमिकता दिएर पढाइरहेछन् । केही समय अगाडि म यस्तै एउटा स्कुलमा आबद्ध थिएँ । त्यो स्कुलमा अङ्ग्रेजी भाषालाई गरिखाने भाषाको रुपमा मात्र लिइन्थ्यो । त्यस्तै स्कुलका उत्पादनले हरेक क्षेत्रमा नाम कमाएका छन् । आज उच्च ओहदामा रहेका व्यक्तिहरुलाई हेर्ने हो भने धेरैजसो सरकारी स्कुल पढेकाहरुको बाहुल्य छ । हाम्रो भाषाप्रतिको सोच कति संकुचित रहेछ भन्ने मैले त्यही स्कुलबाट बुझ्ने मौका पाएँ ।

केही महिना अगाडी, नेपाली चलचित्रकी एकजना अभिनेत्री आफैंले निर्माण गरेको फिल्मको प्रतिक्रिया बुझ् हलमा पुगिन् । पत्रकारहरुले उनलाई घेरिहाले । दर्शकको भिडभाडमा पत्रकारहरुले सोधे, ‘फिल्म कस्तो चलिरहेको छ ? दर्शकको प्रतिक्रिया कस्तो पाउनुभएको छ रु अहिलेसम्म कतिको व्यापार गर्यो ?’

प्रत्यूत्तरमा अभिनेत्रीले भनिन्, ‘मलाई नेपालीमा भन्न आउँदैन, त्यस्तै टेन मिलियन समेथिङ समेथिङ ।’ दर्शकको भिडमा गर्वसाथ उनले दिएको अभिब्यक्ती देख्दा म अचम्ममा परेँ । नेपाली फिल्म बनाएर त्यसमा अभिनयसमेत गरेकी अभिनेत्रीलाई नेपालीमा एक करोड भन्ने आउँदैन र? यसमा हामीले दुख मान्ने कि लाज मान्ने र? अनि यस्तै कलाकारले नेपाली संस्कृतिलाई माया गरिदिनुस, नेपाली चलचित्रलाई माया गरिदिनुस भन्दा हामीले मानेर उनीहरुको फिल्म हेर्न गइदिनुपर्ने र? उनीहरुलाई राष्ट्रका गहना मानिराख्नुपर्ने र?

यो त एउटा उदाहरण मात्र हो । नेपालमा कति धेरै छन् यस्ता कलाकारहरु जो आफुले के बोलिरहेको छु भन्ने नै भेउ पाउँदैनन् । जब उनीहरुले बोलेका अन्टसन्ट कुरा मिडियामा भाइरल हुन्छन्, अनि त्यसपछि बल्ल आँखा खुल्छ ।

कतिपय मिडियाकर्मी, अभिनेत्रीहरु भन्ने गर्छन्, मेरो नेपाली कमजोर भएको कारणले अभिनय गर्न गाह्रो भयो । मैले नबुझेको कुरा चाहीँ नेपाली भाषा हुर्किएकाहरुले दुई–चार अक्षर अंग्रेजी जाँदै यस्तो कुरा गर्न कसरी सकेको होला र? यदी उनीहरुको मातृभाषा अरु कुनै भए त्यो स्वाभाविक पनि हुन्थ्यो होला । परिवारमा नेपाली नबोल्ने भए पनि एउटा कुरा । नत्र केको नाटक ?

नेपालको छिमेकी भारतीय चलचित्र उद्योगमा सेलिब्रेटीहरु अनौपचारिक संवाद अंग्रेजी भाषामा गर्छन् । संभवत नेपाली कलाकारलाई त्यही हावा लागेको होला । तर, बलिउड सेलिब्रिटीले मलाई हिन्दीमा बोल्न आउँदैन भनेर मिडियामा अन्तरवार्ता दिएको पाइँदैन । बरु मिडियामा प्रस्तुत हुँदा उनीहरु हिन्दी नै बोल्छन् । सार्वजनिक कार्यक्रममा पनि हिन्दी बोल्नछन् । सकेसम्म सुद्द बोल्ने प्रयास पनि गर्छन् । नक्कल त यस्तो कुराको पो गर्नु ।

केही समय अगाडि मेरो स्कुलमा नेपाली भाषा पढाउने एक शिक्षिकासँग एउटा पुस्तक मेलामा भेट भएको थियो । त्यहाँ धेरै पुस्तकहरु राखिएका थिए नेपाली लेखकहरुले लेखेका । मलाई वीपी कोइरालाको पुस्तक किन्नु थियो र किनेँ । उनले सोधिन्, के हो यो रु कस्तो खालको किताब हो रु मैले हाँसो थाम्न सकिनँ । उनलाई प्रश्न गरेँ, ‘तपाईं नेपाली पढाउने शिक्षिका भएर वीपी कोइरालाको बारेमा थाहा छैन ?’

उनले नाक खुम्च्याउँदै भनिन्, ‘नाई, म त नेपाली किताब नै पढ्दिन ।’

मैले सोधेँ, ‘कुन भाषाको किताब पढ्नुहुन्छ त त्यसो भए ?’ उनको बोली बन्द भयो । कुनै विदेशी किताबको नाम लिन सकिनन् । चुपचाप आफ्नो बाटो लागिन् । गल्ति उनी होइनन्, उनको चिन्तन हो । नेपाली किताब पढेको छैन भन्दा ठूलो देखिन्छु भन्ने भ्रम उनले पालेकी थिइन् । अन्ततः आफैं लाजले पानीपानी भइन् ।

यस्ता धेरै उदाहरणहरु छन् । राजधानीकै निजी स्कुलमा पढाउने शिक्षक–शिक्षिकाहरु, जसले नेपाली आउँदैन भन्छन्, उनीहरुको अंग्रेजी सुन्दा बेहोस भइन्छ । फेद न टुप्पाको बोल्छन् । न त उच्चारण मिलेको हुन्छ, न कुनै पदसंगती ।

म एक बर्षअगाडि आइइएलटीएसको क्लास लिन गएको थिएँ । पढाउने शिक्षक विदेशी थिए । उक्त क्लासमा आइइएलटिएसको मात्र कुरा नसिकेर भाषासबन्धी धेरै कुराहरु सिक्ने मौका पाएँ । पढाउदै गर्दा शिक्षकले सबैलाई एउटै सल्लाह दिन्थे कि हरेक देशको नागरिक सर्बप्रथम आफ्नो भाषामा अब्बल हुनु पर्छ । आफ्नो भाषामा पोख्त भए मात्र अन्य भाषा राम्रोसँग सिक्न सकिन्छ । । उनी हामीलाई पहिले नेपाली भाषा राम्ररी सिक्न र बोल्न प्रेरित गर्थे । हामी आफ्नो भाषामा राम्रो दख्खल राख्छौं भने अन्य भाषाका शब्दहरु यसलाई यो भनिन्छ भनेर बुझ्न सजिलो हुने उनको तर्क थियो ।

विश्वका शक्तीशाली र सम्पन्न देशहरु यतिक्कै आजको स्थानमा पुगेका होइनन् । उनीहरु आफ्नो भाषा र संस्कृतिलाई सधैं उच्च प्रथमिकता दिन्छन् । अङ्ग्रेजी भाषा सिक्छन्, तर सकेसम्म आफ्नै भाषामा बोल्ने गर्छन् । बोल्नै पर्ने ठाउँमा मात्र अङ्ग्रेजी भाषाको प्रयोग गर्छन् । यसको उदाहरणः जापान, कोरिया, चाइना, आदी हुन् ।

हरेक बर्ष नेपालमा मिस नेपाल प्रतियोगिता हुने गर्दछ र उक्त प्रतियोगिता जितिसकेपछि उपाधि बिजेताको अन्तरवार्ता आउन थाल्छ । उनी पुरै बनावटी शैलीमा नेपाली भाषा बोलिरहेकी हुन्छिन् । आफूलाई नेपाली राम्रो बोल्न आउँदैन भनेर देखाउने चेष्टा उनको हुन्छ । लाजमर्दो कुरा होइन र यो ? आफ्नै भाषा राम्ररी बोल्न आउँदैन भने उनी कसरी ‘मिस नेपाल’ उपाधिको हकदार बन्न सक्छिन् ?

यदि हाम्रो देशका सेलिब्रेटीहरु अङ्ग्रेजी भाषामा खत्रै भएको भए कुनै पनि सार्वजनिक समारोह तथा अन्तर्रास्ट्रियस्तरमा गएर बोल्नु पर्दा किन सक्दैनन् त ? कतिपय अवस्थामा त पुरै स्क्रिप्ट नै तयार पारेर बोल्न दिईएको हुन्छ, तर पनि स्पष्टसँग बोल्न सकिरहेका हुँदैनन् । अनि मजाकका पात्र बन्छन् । सेलिब्रटी मात्रै होइन, हाम्रा नेता र मन्त्रीहरु पनि धेरैपटक टुटेफुटेको अंग्रेजी बोलेर अन्तर्राष्ट्रिय मञ्चमा हाँसोको पात्र बनेका छन् । उनिहरुलदाई स्क्रिप्ट दिइएको हुन्छ, तर पनि राम्ररी बोल्न सक्दैनन् । अन्य देशका कतिपय प्रतिनिधिहरु भने गर्वसाथ आफ्नै देशको भाषामा बोल्छन् र उल्था गर्न लगाउँछन् ।

यसरी माथिका उदाहरणहरुबाट के प्रस्ट हुन्छ भने धेरै नेपालीहरु आफ्नै भाषाप्रतिको दृष्टिकोण सही छैन । अहिलेको प्रतिस्पर्धामक जमानामा अङ्ग्रेजी भाषा सिक्नु आवश्यक छ अन्तर्राष्ट्रिय भाषा भएकाले यसको महत्वलाई नजरअन्दाज गर्न मिल्दैन । तर, अंग्रेजीलाई महत्व दिने नाममा नेपाली भाषालाई हेला गर्नु ठिक होइन ।

तपाईको प्रतिक्रिया