भोजपुर,२९ भाद्र- शिक्षा क्षेत्रमा बिगत ५ वर्षदेखि नै नेपालको ग्रामिण क्षेत्रका शिक्षामा पछाडी परेका विद्यालयको शिक्षा क्षेत्रलाई सुधार गर्नका निमित्त संखुवासभा र गुल्मी जिल्लामा काम गर्दै आइरहेको युनाइटेड वर्ल्ड स्कुल्स, नेपालले यो वर्ष केहि भिन्न तरिकाले बाल दिवस मनाएको छ ।

कोरोना महामारीका कारण बिद्यालयहरु बन्द भएका कारण यस बर्ष युनाइटेड वर्ल्ड स्कुल्स, नेपालले रेडियो कार्यक्रम मार्फत बाल दिवस मनाएको छ । वालदिवसको अवसरमा संखुवासभा तथा गुल्मी जिल्लामा प्रसारण हुने ७ वटा रेडियो मार्फत हाम्रो कक्षा रेडियो शैक्षिक् कार्यक्रममा बिद्यार्थीहरुका कविता, गीत संगीतका साथसाथै साथी शिक्षकहरुले तयार गरेको सपनाको कथा नामक नाटक पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का बालअधिकार श्रोत व्यक्ति सुमन अधिकारीले बालअधिकारको परिचय, महत्व, बालहिंसा र यसको न्यूनीकरण, अहिलेको यो कोरोना भाईरसको महामारीमा बालबालिका कसरी सिर्जनशील बन्न सक्छन भन्ने बारेमा आफ्नो महत्वपुर्ण धारणा समेत कार्यक्रममा राखेका थिए ।

कार्यक्रममा बाल मनोविमर्शकर्ता सरस्वति पोखरेलले कोरोना भाईरसको महामारीको समयमा बालबालिकालाई कसरी सुरक्षित राख्ने र उनीहरुमा पर्ने मानसिक असरलाई कम गराउनका निमित्त अभिभावकको भूमिकालाई बिशेष रुपमा चर्चा गरेकी थिईन भने विभिन्न शिक्षकले बालबालिकालाई गर्नु पर्ने ब्यबहारको बारेमा समेत आफ्ना धारणा राखेका थिए ।

त्यसैगरी रेडियो कार्यक्रममा बोल्दै युनाइटेड वर्ल्ड स्कुल्स, नेपालका कन्ट्री डाईरेक्टर सुर्य कार्कीले युनाइटेड वर्ल्ड स्कुल्स, नेपालका विद्यार्थी बालबालिकाहरुलाई भबिष्य निर्माण गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे ।

युनाइटेड वर्ल्ड स्कुल्स, नेपालले बिद्यार्थीको सिकाईमा टेवा पुर्याउने हेतुले बिगत ४ महिना देखि पाठयपुस्तकमा समेत आधारित भएर हाम्रो कक्षा नामक रेडियो शैक्षिक् कार्यक्रम संखुवासभा र गुल्मीका विभिन्न ७ वटा रेडियोवाट निर्माण र प्रशारण गरि सिकाई कार्यलाई निरन्तरता प्रदान गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया