सात महिनापछि तुम्लीङ्टारवाट पनि उडान शुरु

संखुवासभा,५ असोज- सरकारले लकडाउनका कारण गएको चैत्रवाट वन्द गरेको आन्तरिक उडान खुल्ला गरे सँगै संखुवासभाको तुम्लीङ्टार विमानस्थलवाटपनि सात महिनापछि आजवाट हवाई उडान शुरु भएको छ । नेपालको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरलाईन्स र यति एयरले उडान भरेका हुन् ।

बुद्ध एयरले तुम्लीङ्टारवाट विराटनगर, काठमाडौं र यति एयरले काठमाडौंको उडान भरेका हुन् । यात्रुलाई कोरोनाको पिसिआर टेस्टको रिपोर्ट अनिवार्य नगरेतापनि सुरक्षा सावधानी अपनाएर मात्र यात्रा गर्न पाईने वताएको छ । एउटा मात्र झोला वोक्न पाउने, २ घण्टा अगाडि विमानास्थल प्रवेश गर्नुपर्ने, कोभिड १९ को लक्षण हुन नहुने, विरामी भएमा डाक्टरको रिपोर्ट अनिवार्य हुनुपर्ने जस्ता नियम एयरलाईन्सले लागु गरेको छ । सरकारले तोके अनुसार उच्च स्वास्थ्य सतर्कता अपनाएर उडान गरिएको बुद्ध एयर तुम्लीङ्टारका सिनियर अफिसर राजिव पोख्रेलले जानकारी वताए ।

आज बुद्ध एयरवाट काठमाडौं-तुम्लीङ्टार १७ जना,तुम्लीङ्टार विराटनगर ५ जना , विराटनगर-तुम्लीङ्टार ८ जना र तुम्लीङ्टार-काठमाडौं १७ जना यात्रु सहित उडान भरेको बुद्ध एयर तुम्लीङ्टारका सिनियर अफिसर पोख्रेलले जानकारी दिए ।

काठमाडौं-तुम्लीङ्टार ५ हजार ६ सय पचपन्न,तुम्लीङ्टार-विराटनगर ३ हजार ३ सय ५, विराटनगर-तुम्लीङ्टार ३ हजार ४ सय ५ र तुम्लीङ्टार-काठमाडौं ५ हजार ५ सय ५५ भाडा तोकेको छ ।

लकडाउन अघि बुद्ध र यतिले काठमाडौं मात्र दैनिक उडान गर्दै आएको थियो भने बुद्धले विराटनगर हप्ताको तीन दिन आईतवार, बुधवार र शुक्रवार उडान गर्दै आएको थियो । बुद्ध एयरले अव विराटनगरपनि दैनिक उडान भर्ने जनाएको छ ।