ताप्लेजुङ- आफ्नै ठूलो बुबाको परिवारका तीन जनामाथि खुकुरी प्रहार गर्ने सिरिजंघा गाउँपालिका–७ याम्फुदिन भोटेगाउँका २२ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका छन् । प्रहरीको टोलीले उनलाई बिहीबार याम्फुदिनबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

पशुचौपायाका लागि घाँस–पराल राख्ने खोल्मामा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनले बुधबार राति परिवार भित्रकै ३ जनामाथि खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन् । ६१ वर्षीय ठूलीआमा फुटिक भोटे, ३६ वर्षीय दाजु पासाङ भोटे र १८ वर्षीय भाइ लाक्पाछिरिङ भोटेमाथि खुकुरी प्रहार गरेको वडाध्यक्ष टासी शेर्पाले बताए ।

ताप्लेजङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बुधबार बेलुका १० बजेसम्म सबैजना टेलिभिजन हेरेर बसेका थिए । सुतेपछि उनले खुकुरी प्रहार गरेको पाइएको छ । उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि तेल्लोक इलाका प्रहरी कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय ल्याइने श्रेष्ठले बताए ।

भारतसँगको सिमावर्ती क्षेत्र भएकाले अभियुक्तको खोजीका लागी बिहीबार बिहानैदेखि पाँचथरको चिवाभञ्ज्याङ र ताप्लेजुङका सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको थियो । बिहीबार बिहानै तेल्लोक इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी पनि घटनास्थलमा गएको थियो ।

तपाईको प्रतिक्रिया