भाेजपुर । पाहाडको टुप्पामा लमतन्न सुतेको फाँट । हिमालको काखैमा मैयुङडाँडा उसैगरी अडेको छ, गोरुको काँध जस्तै गरी मैयुङ चुचुरो माथितिर उठेको छ । खुलेको मौसम, पारिलो घाम अनि नीलो आकाश । पारिपट्टि सेताम्मै टल्कने हिमालको हसिलो मुस्कान । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेको मैयुङडाँडामा यति बेला साँच्चिकै उमंग छाएको छ । वारिपारिका नजर विछट्टै एकोहोरिएका भेटिन्छन् । भोजपुरको उत्तर पश्चिम र खोटाङको उत्तर पूर्वी सिमाना, दुई जिल्लाबीचको संगमस्थल हो यो ।

यो भोजपुरको दोभाने, खार्ताम्छा, किमालुङ र तिम्मा गाविस र खोटाङको फेदी गाविसको बीचमा पर्छ । स्थानीय स्तरमा यसलाई साउनेडाँडा पनि भन्छन् । आन्तरिक पर्यटकहरू यहाँ आई टाढा–टाढाका प्राकृतिक सुन्दरताको दृश्यावलोकन गरेर ओरालो झर्छन् । यहाँबाट झरेर उनीहरू हाँसपोखरीमा पुग्छन् । चौरीगाई र भेडाबाख्रा पनि यहाँका मुख्य आकर्षण हुन् । हिउँद लागेसँगै चौरीगाई र भेडाबाख्रा बेंसी झारिएका छन् । यस बेला मैयुङ घुम्न जानेले चौंरी हेर्न बेंसी खर्कसम्म मात्रै पुगे हुन्छ । अचेल घुम्न गएकालाई ढुंगाकै मात्र गाह्रो र बाँसको चित्राले छाएका खाली गोठमा लुकामारी खेल्ने अवसर जुर्छ ।
घरेलु रक्सीसँग लोकल भालेको सेकुवा खाने, नाँच्ने, गाउने, रमाइलो गर्ने यहाँका अन्य विशेषताभित्र पर्छन् । ‘जंगलको बीचमा आगो दन्काएर पालेको लोकल भाले रक्सीसँग खाँदा ढुंगेयुगको बारेमा सानामा पढेको कथाको झझल्को दिन्छ,’ भर्खरै घुमफिर सकाएर आएका मोहन दुरालले आफ्ना अनुभव सुनाए ।
भोजपुर सदरमुकामदेखि ५० किमि टाढा पर्छ यो स्थान । पदलै हिँड्दा पूरापूर एक दिन लाग्छ । जति नै दुस्खकष्ट भए पनि मैयुङको साथमा रमाउन चाहने आँट कसेरै उकालो, ओरालो, घनघोर जंगल हिँड्छन् । बोया गाविसको भीरथाप्लामा उत्तरी दिंला जाने जिल्ला सडक पर्छ जुन सदरमुकामदेखिको दूरी १३ किमि टाढा छ । दिंला जाने गाडीमा आकलझुकल त्यहाँसम्म चढ्न पाइन्छ । नत्र पदलको विकल्प छैन ।

मैयुङ झन्डै ३८ सय वर्गमिटरमा फैलिएको छ । पूरै क्षेत्रफलमा घुमफिर तथा अवलोकन गर्न एक हप्ताको समय निकाल्नुपर्छ । नत्र यात्रा अपूरै हुन्छ । ‘मैयुङ घुमेर कहिल्यै धित मर्दैन, यसको आकर्षण अलग्गै छ,’ आधा दर्जनभन्दा बढी अवलोकन अनुभव लिएका किमालुङका वुद्ध तामाङले बताए । गुराँस फुल्ने सिजन, वसन्त ऋतुका नयाँ पालुवा र नयाँ वर्षको आगमनसँगै जिल्लाभित्र र बाहिरका पर्यटक यहाँ आउने गर्छन् । चैत अन्तिम हप्ता र वैशाख पहिलो हप्ता यी दुई हप्तामा घुमफिर गर्ने, वनभोज खानेको बर्सेनि घुइँचो लाग्ने गरेको खोटाङ फेदी गाविसका दुर्गा राईले बताए ।
एडमन्ड हिलारी पदमार्ग यही डाँडा भएर जान्छ । किमालुङका सुवास तामाङले विदेशी पर्यटकलाई यही मार्ग भएर थुप्रै पटक हिमाली क्षेत्र पुर्यााएका छन् । उनी विगत लामो समयदेखि विदेशी पर्यटकको पथप्रदर्शकको काम गर्दै आएका छन् । सगरमाथा आरोहणका क्रममा हिलारीले दोभाने गाविस हुँदै गएकाले मैयुङलाई समेत विदेशी पर्यटकले विशेष महत्त्वका साथ लिने गरेका तामाङले बताए । अधिकांश विदेशी पर्यटकहरू यही हिलारी मार्ग हुँदै हिमाली भेग पुग्छन् ।

संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाककाउले, ताँबुटार, चौकीडाँडा, दोभाने हुँदै तथा सदरमुकामबाट सुन्तले, बागखोर, भीरथाप्ला, थामडाँडा हुँदै मैयुङ पुग्ने गरेका पत्रकार किरण राईले बताए । असोज महिनादेखि यताको सिजन घुमफिरका लागि उपयुक्त मानिए पनि विदेशी पर्यटक जुनसुकै समयमा आउने गर्छन् । हुस्सु, कुहिरो लाग्ने बर्खामा आइपुगेका पर्यटकले सोचेजस्तो अनुभूति लिन पाउँदैनन् ।

मैयुङको ऐतिहासिक महत्त्व विश्व कीर्तिमानसंग जोडिए पनि पर्यटन व्यवसाय र जानकार पथप्रदर्शकको अभावले विदेशी पर्यटकबाट ओझेलमा परेको बोया ९ की लाक्पादिकी शेर्पाले बताइन् । विदेशी भित्र्याउन सके आन्तरिक अर्थतन्त्र मजबुत हुने भए पनि सरकारले पर्यटन क्षेत्रमा लगानी गर्न नसकेको उनको गुनासो छ ।
संस्कृतिविद् कमलजंग राईका अनुसार बान्तवा भाषाको माङ र युङ दुई शव्द मिलेर मैयुङ बनेको र उक्त ठाउँलाई कालान्तरमा सोही नाम भनिएको हो । माङको अर्थ कुलपितृ र युङको अर्थ बस्ने ठाउँ बुझाउँछ । उहिले किराती राजाले आफ्ना कुलपितृ त्यही डाँडामा राखेका थिए । त्यसैताका पोखरीमा जंगली हाँस आएर खेल्ने, पौडने गरेकाले पोखरीको नाम हाँसपोखरी रहन गएको राईले बताए । सिजनमा कस्तुरी, घोरलजस्ता दुर्लभ बन्यजन्तु तथा राष्ट्रिय पक्षी डाँफेचरी प्रत्यक्ष देख्न सकिन्छ । माथिल्लो डाँडामा सत्ययुगमा रानीले तान बुन्न प्रयोग गरेको ठूला र चेप्टा चट्टानसमेत अवलोकन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया