धरान- धरानमा रुखको हाँगाले लागेर तीन वर्षीया बालिकाको ज्यान गएको छ । बिहीबार दिउँसो दन्तकाली मन्दिरतर्फबाट फर्किंदै गर्दा धरान–१४ स्थित दुईधारेमा रुखको सुकेको हाँगा झरेर लागेपछि गम्भीर घाईते भएकी एबिसा राईको उपचारका क्रममा मृत्यु भएको हो ।

रुखको हाँगा झर्दा एबिसासहित उनकी आमा विष्णु राई र दिदि नेबिसा राई घाईते भएका छन् । घाईते तीनै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएकोमा टाउकोमा चोट लागेर गम्भीर अवश्थामा रहेकी एबिसालाई भेन्टिलेटर सहित पिआइसियुमा उपचार गर्नु पर्ने भएपनि प्रतिष्ठानमा खाली नभएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उनको न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

आमा विष्णुको अवस्था सामान्य रहेको र दिदि नेबिसाको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । यो घटनापछि धरान १४ वडा कार्यालयले दुई धारे क्षेत्रमा अझैपनि रुखका हाँगा झर्ने सम्भावना रहेकाले केही समयका लागि सो बाटो नहिड्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया