काठमाडौं- पूर्वराज्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्का सवार गाडीले ठक्कर दिँदा महाराजगञ्जमा एक जनाको मृत्यु भएको छ ।

असोज ७ गते त्रिवि शिक्षण अस्पताल अगाडिको जेब्रा क्रसिङमा बाटो काट्दै गरेकी अनुपा पाण्डे कार्कीलाई कांग्रेस नेता खड्का सवार बा.११च ४१४१ नम्बरको प्राडो गाडीले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी अनुपाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना गराउने गाडी चालक जयराम जोशीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले बताए । ‘गाडी चालकलाई पक्रेर मुद्दा चलाएका छौं,’ एसपी राठौरले भने, ‘दुर्घटनाको सिनमा एउटा मोटरसाइकल पनि देखिन्छ, मोटरसाइकल खोज्दै छौं ।’

नारायणगोपाल चोकबाट केन्द्रीय अनुसन्धान ब्यूरोतर्फ आउँदै गरेको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएपछि उनी उछिट्टिएर गाडीमा ठोक्किएको सिसिटिभी फुजेटमा देखिएको छ । सिसिटीभिमा मोटरसाइकलको नम्बर खुलेको छैन ।

तपाईको प्रतिक्रिया