काठमाडौं- सरकारको चार महिनाको लकडाउन र एक महिनाको निषेधाज्ञालाई पूरै असफल सावित गर्दै नेपालमा तीव्र गतिमा कोरोना फैलिँदै गएको छ। पछिल्लो एक महिनायता संघीय राजधानी काठमाडौंसहित देशका मुख्य सहरी क्षेत्रका समुदायस्तरमा पुगेको कोरोनाले भयावह रुप लिन थालेको हो।

नेपालमा मृतक संख्या विश्‍वका अन्य देशको तुलनामा कम भए पनि संक्रमितको संख्या भने आकासिँदै गएको छ। एक सातायता नेपालमा कोरोना संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ। देशभर दैनिक २ हजार भन्दा धेरै संक्रमित भेटिँदा उपत्यकाका तीन जिल्लामै दैनिक १५ सयको हाराहारीमा संक्रमित भेटिन थालेका छन्। चीनमा भन्दा धेरै संक्रमित कोरोना संक्रमितको आँकडाको कुरा गर्ने हो भने नेपालले अब चीनलाई पनि उछिनेको छ।

नेपालमा पहिलो पटक २०७६ माघ १० गते (जनवरी २४) पहिलो कोरोना संक्रमित भेटिएका थिए। चीनमा अध्ययन गरेर फर्किएका नेपालगञ्जका युवकमा कोरोना देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार गरिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्। चीनको वुहानबाट २०१९ डिसेम्बरमा पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए। त्यसपछि नेपालमा माघ १० गते पहिलो संक्रमित भेटिएका थिए। चीनको वुहानमा कोरोनाले महामारीको रुप लिइरहँदा नेपालमा अवस्था सामान्य थियो।

तर अहिले नेपालमा कोरोनाले महामारीको रुप लिइरहँदा चीनको अवस्था भने सामान्य भइसकेको छ। चीनले वुहान सहरमा करिब ७७ दिन लामो लकडाउन अवधिमा कोरोना नियन्त्रणमा लिएर सबै कुरा खुला गरिसकेको छ। यस्तोमा नेपालमा आइतवार २२ सय ५३ जना संक्रमित थपिएसँगै नेपालले संक्रमितको संख्यामा चीनलाई पनि उछिनेको छ।

नेपालमा आइतवार २२ सय ५३ संक्रमितलाई जम्मा संक्रमितसँग जोड्दा ८६ हजार ८ सय २३ हुन आउँछ। उता चीनभर कोरोना संक्रमितको संख्या ८५ हजार ४ सय ५० रहेको विश्‍व स्वास्थ्य संगठनले जनाएको छ। तर नेपालमा भन्दा चीनमा कोरोनाबाट धेरैले ज्यान गुमाएका छन्। चीनमा कोरोनाबाट ४ हजार ६ सय ३४ जनाले ज्यान गुमाएका थिए। नेपालमा आइतवार थप सात जनाले ज्यान गुमाउँदा मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ। नेपालमा २२ सय ५३ जना संक्रमित थपिँदा चीनमा आइतवार १६ जना नयाँ संक्रमित भेटिएका छन्। चीनमा अहिलेसम्म ८० हजार ६ सय २१ जना निको भइसकेका छन्। अहिले त्यहाँ १९५ जना सक्रिय संक्रमित रहेका छन्।

यता नेपालमा आइतबारको तथ्यांक हेर्दा सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ। चीनले करिब ३ महिनामै कोरोना नियन्त्रणमा लिएपछि अहिले त्यसविरुद्धको भ्याक्सिन बनाइरहेको छ। तेस्रो चरणमा रहेको भ्याक्सिन अहिले त्यहाँस्थित जनमुक्ति सेनामा परीक्षण भइरहेको जनाईएको छ।

तपाईको प्रतिक्रिया